काठमाडौं । भारतमा चिप प्लान्ट निर्माणको योजनाबाट एप्पलको आपूर्तिकर्ता फक्सकन पछाडि हटेको छ । भारतीय कम्पनी वेदान्तसँग १९ अर्ब ५० करोड अमेरिकी डलरमा चिप प्लान्ट निर्माणका लागि गरेको सम्झौताबाट फक्सकन पछि हटेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा उक्त प्लान्ट स्थापना गर्ने घाेषणा भएपनि एक वर्ष नबित्दै उक्त योजना तुहिएको छ । यसले भारतले प्रविधि उद्योगमा राखेको लक्ष्यलाई असर पार्ने केही विश्लेषकहरूले अनुमान गरेका छन् ।
भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले भने यसबाट कुनै असर नपार्ने तर्क गरेका छन् । बीबीसीका अनुसार वेदान्तसँग फक्सकनले आपसी सहमतिमा नै उक्त सम्झौता रद्द गरेको हाे । त्यस्तै आफूहरूले चिप निर्माण गर्ने अन्य कम्पनीहरूसँग सम्झौताका लागि काम अगाडि बढाएको वेदान्तले उल्लेख गरेकाे छ ।
प्रधानमन्त्री मोदीले भारतको आर्थिक स्तर सुधार गर्न चिप उत्पादनलाई उच्च प्राथमिकता दिएका छन् । त्यही सन्दर्भमा चिप निर्माता भियतनामी कम्पनी र वेदान्तसँग ठूलो धनराशी लाग्ने परियोजनामा सहमति भएको थियो । तर केही वर्षयता अन्य कम्पनीहरूले समेत भारतमा सेमिकन्डक्टर कारखानाहरू निर्माणको घोषणा गरेका छन् ।
गत महिना मात्रै मेमोरी चिप निर्माता अमेरिकी कम्पनी माइक्रोनले भारतमा सेमिकन्डक्टर एसेम्बली र परीक्षण गर्न ८२ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने बताएको थियो । यसै वर्ष सुरु हुने उक्त परियोजनाले प्रत्यक्ष रूपमा १५ हजार रोजगारी सिर्जना गर्ने बताइएको छ ।