close

रेडियोहरूले सुरेश अधिकारीका गीत नबजाउने, फेसबुकमा गाली गरेको भन्दै साइबर ब्यूरोमा उजुरी

टेकपाना टेकपाना

साउन ५, २०८० १७:५५

रेडियोहरूले सुरेश अधिकारीका गीत नबजाउने, फेसबुकमा गाली गरेको भन्दै साइबर ब्यूरोमा उजुरी

काठमाडौं । सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा गायक/सङ्गीत​कार सुरेश अधिकारीले आफूहरूलाई अमर्यादित गाली गरेको भन्दै स्वतन्त्र  रेडियो सम्बद्ध छाता संगठनले उनका सम्पूर्ण साङ्गीतिक कृतिहरू प्रसारण नगर्ने भएको छ ।

रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले बिहीबार गते संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीका सिर्जनाहरूलाई रेडियोमा बजाउन रोक गरेको जानकारी दिएको हो ।

“नेपाली सङ्गीत क्षेत्रका एक जना सर्जकका रूपमा सामाजिक पहिचान बनाएका व्यक्तिबाटै यस प्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली सङ्गीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन, सञ्चारमाध्यम सितको सम्बन्धमा समेत दूरी बढाउने कार्य गरेको छ,” जारी विज्ञप्तिमा लेखिएको छ ।

त्यस्तै अध्यक्ष अधिकारीको उक्त अभिव्यक्तिले नेपालको संविधानको भाग ३ को दफा १९ (सञ्चारकाे हक)को उल्लघंन भएको रेडियाे प्रसारकहरूकाे ठम्याइ छ 

अधिकारीले साउन ४ गते रोयल्टी नदिएर श्रष्टाहरुको सम्पत्तिमा रेडियोका सङ्घ सँस्थाले लुट मच्याएको र त्यसविरुद्ध नयाँ तरिकाले लड्ने आशय सहितको पोस्ट लेखेका थिए । ​

उनको त्यही अभिव्यक्तिलाई लिएर आफूहरूले त्यस्तो निर्णय गरेको र त्यस विरुद्ध साइबर ब्यूरोमा समेत निवेदन दिएको अकोराबका अध्यक्ष अर्जुन गिरीले बताए । “हामीलाई सङ्गीत रोयल्टीसँग समस्या होइन । हामी सम्झौता अनुसार नै तिर्छौ,” उनले टेकपानासँग भने, “तर अध्यक्ष अधिकारीको उक्त अभिव्यक्तिले हामीलाई असर पर्ने हुनाले त्यसो गर्न बाध्य भएका हौं ।”

सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । तर उनी निकट एक व्यक्तिले भने यो विवाद पहिलेदेखि भइरहेको र अन्य कलाकारहरूले रोयल्टीबारे दबाब दिइरहेको पृष्ठभूमिमा उनले लेखेको हुनसक्ने बताए ।

तर अकोराबका अध्यक्ष गिरीले भने त्यस्तो केही नभएको बताए । “कलाकारको हितका लागि सङ्गीत रोयल्टी सङ्कलन समाज स्थापना भएको हो । रेडियोको क्षमता अनुसार १ देखि १०० वाटसम्म वार्षिक २५००, १०१ देखि ५०० वाटसम्म ४५००, ५०१ देखि १००० वाट ८००० र १००१ भन्दा माथि १२००० रुपैयाँ रोयल्टी स्वरुप रकम बुझाई रहेका छौं,” उनले भने, “तर दूरदराजका कलाकारले नै त्यो रकम नपाएको र रोयल्टी सङ्कलन समाज भित्र आफ्नो मान्छे हालेको भन्ने खालका गुनासो हामीलाई पनि आयो । यसबारे कुरा गर्दा विभिन्न आक्षेप लगाउँदै  फेसबुकमा उनले त्यस्तो कुरा लेखे । हाम्रो यो कदम विशुद्ध उनी प्रति मात्र हो ।”

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १७:५५