काठमाडौं । आउँदो बुधबार सामसङले अनप्याक्ड इभेन्ट गर्ने भएकाे छ । हरेक वर्ष झैं कम्पनीले यो वर्ष पनि आफ्नो अनप्याक्ड इभेन्टमा धेरै डिभाइसहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यसअन्तर्गत कम्पनीको फ्ल्यागशिप फोन ग्यालेक्सी जेड फोल्ड फाइभ, ग्यालेक्सी जेड फ्लिप फाइभ, नयाँ ट्याब्लेट, स्मार्टवाच लगायत सार्वजनिक गर्न सक्नेछ । यस पटकको अनप्याक्ड इभेन्टको अर्को विशेषता भनेको यसको भेन्यु पनि हो । कम्पनीले आफ्नो इतिहासमा पहिलोपटक आफ्नै गृहदेश कोरियाको सउल सहरमा कार्यक्रम आयोजना गर्दैछ ।
सार्वजनिक हुने तयारीमा रहेका डिभाइस
सामसङ ग्यालेक्सी जेड फ्लिप फाइभ
कम्पनीले विगत पाँच वर्षदेखि लगातार आफ्नो फोल्ड र फ्लिप सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । यसको अर्थ हो यो वर्ष पनि केही नयाँ स्मार्टफोन पक्कै आउँछ । नयाँ स्मार्टफोनमा सबैभन्दा सुरुमा अपेक्षा गरिएको फोन हो, ग्यालेक्सी जेड फ्लिप फाइभ ।
यो पटक फोनको बाहिरको डिस्प्ले ठूलो हुने अपेक्षा गरिएको छ । अर्थात् बाहिरको डिस्प्ले मोटोरोलाको पछिल्लो भर्सन 'रेजर प्लस' को जस्तै फुल हुने बताइएको छ । साथै बाहिरी डिस्प्लेबाट नै मेसेज रिप्लाइ गर्न सकिने, सेल्फी खिच्न सकिने, मिनिगेम्स खेल्न सकिने लगायतका फिचर हुने पनि बताइएको छ । जेड फ्लिप फाइभमा क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिनेछ ।
सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ
अहिलेसम्म बाहिरिएको जानकारी अनुसार जेड फोल्ड फाइभमा बाहिरी डिस्प्ले ६.२ इन्चको र भित्री डिस्प्ले ७.६ इन्चको हुनेछ भने १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यो फोनमा पनि क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिनेछ ।
फोनमा ४,४०० एमएएचको ब्याट्री हुनेछ भने यो फोनको अघिल्लो सिरिजको तुलनामा पातलो हलुँगो हुने बताइएको छ । त्यसैगरी कम्पनीले यसपटक फोनको क्यामेरामा पनि निकै परिवर्तन गरेको बताइएको छ ।
सामसङ ग्यालेक्सी वाच ६ सिरिज
बुधबार हुने अनप्याक्ड इभेन्टमा कम्पनीले आफ्नो ग्यालेक्सी वाच ६ सिरिज पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वान यूआई फाइभमा आधारित हुने यो वाचमा स्लिप, फिटनेस र सेफ्टी टुल्स सुधार गरिएको बताइएको छ ।
त्यस्तै यसमा भर्चुअल सेफ्टी कोच पनि उपलब्ध हुनेछ भने नयाँ एसओएस अर्थात् आकस्मिक अवस्थाका लागि आवश्यक फिचरहरू पनि थप गरिएका छन् । यो पटक कम्पनीले वाच ६ को तीन ओटा भेरियन्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जसमा स्ट्यान्डर्ड, प्रो र क्लासिक भर्सन हुनेछन् ।
सामसङ ग्यालेक्सी ट्याब एस नाइन सिरिज
कम्पनीले आफ्नो नयाँ सामसङ ग्यालेक्सी ट्याब एस नाइन सिरिज पनि सार्वजनिक गर्दैछ । यो सिरिजमा तीन ओटा मोडेल हुनेछन् र तीनै मोडेलमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिने बताइएको छ ।
ट्याबलेटको रिफ्रेसरेट भने १४४ हर्ज अथवा १६५ हर्जको हुने अनुमान छ । ट्याब एसएटको तुलनामा यसमा उत्कृष्ट टच स्याम्पलिङ रेट हुने बताइएको छ भने डिस्प्लेका अन्य फिचर पनि सुधार गरिएको जानकारी बाहिरीएको छ ।
सामसङ ग्यालेक्सी बड्स थ्री प्रो
अन्य डिभाइस सार्वजनिक हुँदै गर्दा ग्यालेक्सी बड्स थ्री प्रो पनि सार्वजनिक भइहाल्छ कि भन्ने अनुमान छ । तर यसको विषयमा भने कम्पनीबाट धेरै कुरा नबाहिरिएको कारण यो सार्वजनिक नहुने पनि उत्तिकै अनुमान छ ।
सामसङ हेडसेट
यो अनप्याक्ड इभेन्ट सार्वजनिक हुने सम्भावना एकदमै न्युन रहेको अर्को डिभाइस हो सामसङको हेडसैट । सामसङले क्वालकम र गुगलसँगको सहकार्यमा यो हेडसेट तयार गरिरहेको छ । तर यसको सार्वजनिक हुने विषय भने निश्चित छैन ।