close

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दै एलन मस्क, चराको ठाउँमा आउने नयाँ लोगो आज लाइभ हुँदै

टेकपाना टेकपाना

साउन ८, २०८० ८:५६

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दै एलन मस्क, चराको ठाउँमा आउने नयाँ लोगो आज लाइभ हुँदै

काठमाडौं । एलन मस्कले ट्वीटरमा हालसम्मकै ठूलो परिवर्तन गर्ने बताएका छन् । त्यो हो, १६ वर्षदेखि विश्वले चिन्दै आएको चराको लोगो । आइतबार मस्कले ट्वीटरको बहुचर्चित लोगो परिवर्तन गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा तहल्का नै मच्चियो ।

मस्कले ट्वीटरको लोगो किन परिवर्तन गर्न लागे, नयाँ लोगो कस्तो हुन्छ, त्यसको अर्थ के हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । यहीबीच मस्कले लोगोलाई नै लिएर एक दर्जन बढी ट्वीट गरेका छन् ।

“छिट्टै नै हामी ट्वीटरको ब्रान्डलाई बिदाइ गर्दैछौं, र विस्तारै सबै चराहरूलाई पनि,” मस्कले आइतबार एक ट्वीट गर्दै लेखे । त्यसको करिब एक घण्टापछि मस्कले उनले ट्वीटमार्फत ‘एक्स’ अक्षरबाट आउने उपयुक्त लोगो भेटे सोमबार विश्वभर ट्वीटरको नयाँ लोगो लाइभ गर्ने बताए ।

यही ट्वीटपछि मानिसहरू ट्वीटरको नयाँ लोगो कस्तो होला भन्ने उत्सुकता बोकेर बसेका छन् । एलन मस्कले ‘एक्स’ अक्षरलाई ‘एभ्रिथिङ एप’ अर्थात् सबै कुरा भएको एपका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ट्वीटर अब केबल सामाजिक सञ्जाल मात्र नभएर इन्स्ट्यान्ट मेसेजिङ र भुक्तानी सेवा उपलब्ध गराउने एप हुनेछ ।

यो चिनियाँ एप 'वी च्याट' कै अवधारणा हो । मस्क आफैंले पनि ट्वीटर खरिद गर्नुको मुख्य कारण ‘एक्स’ निर्माण कार्यलाई बढावा दिने हो भनेका छन् । यसका लागि उनले ट्वीटर खरिद गर्नु र त्यसलाई नियन्त्रणमा लिनुलाई ‘एक्स’ निर्माण गर्ने कामका रूपमा हेरिएको छ ।

आइतबार ट्वीटरको लाइभ अडियो स्ट्रिममा बोल्दै मस्कले ट्वीटरको लोगो परिवर्तन गर्न लागेको बताएका थिए । त्यसपछि सार्वजनिक रूपमा ट्वीट गर्दै उनले लोगो परिवर्तन गर्न लागेको औपचारिक घोषणा गरेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार त्यसको केही घण्टापछि मस्कले ट्वीटरका कर्मचारीलाई ईमेल पठाउँदै “हामी वास्तवमा ट्वीटरलाई ‘एक्स’ मा परिवर्तन गर्दैछौं र यो काम आजै हुन्छ’ भन्दै सल्युटको ईमोजी पठाएका थिए ।

‘एक्स’ सँग मस्कको सम्बन्ध

‘एक्स’ अक्षरसँग मस्कको दुई दशक पुरानो सम्बन्ध छ । उनले केही साथीहरू मिलेर सन् १९९९ मा अनलाइन बैंकका रूपमा एक्स डटकम स्थापना गरेका थिए । तर, पछि विविध कारणले एक्स डटकम पेपालमा गाभियो । मस्क पनि त्यसैमा आवद्ध भए । त्यसको करिब १५ वर्षपछि सन् २०१७ मा मस्कले पेपालबाट एक्स डटकम डोमेन खरिद गरे । 

अहिले उनले सोही एक्सडटकम रिडाइरेक्ट गरेर ट्वीटरमा आउने बनाएका छन् । अर्थात् तपाईंले एक्स डटकम ब्राउज गर्नुभयो भने उक्त पेज रिडाइरेक्ट भएर ट्वीटर खुल्छ । 

ट्वीटरकी सीईओ लिन्डा याकारिनोले पनि मस्कको परियोजनालाई भरपुर साथ दिइरहेकी छिन् । सोमबार एक ट्वीट गर्दै लिन्डाले ‘एक्स’ असीमित अन्तरक्रियाको भविष्यको अवस्था हो । “यो विशेषगरी अडियो, भिडिओ, मेसेजिङ, पेमेन्ट्स तथा बैंकिङमा केन्द्रित छ,” उनले ट्वीट गर्दै लेखेकी छिन, “यो विचार, सेवा, सामग्री र अवसरको एक मार्केटप्लेस बन्नेछ ।”

एआईद्वारा सञ्चालन हुने यो प्लेटफर्मले हामीले सोचेभन्दा फरक तरिकाले मानिसहरूलाई एक अर्कासँग जोड्ने दाबी गरेकी छिन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८० ९:१३