close

च्याटजीपीटीका मालिकले ल्याए नयाँ क्रिप्टोकरेन्सी, कारोबार गर्न आँखा स्क्यान गर्नुपर्ने

टेकपाना टेकपाना

साउन ९, २०८० १२:५१

च्याटजीपीटीका मालिकले ल्याए नयाँ क्रिप्टोकरेन्सी, कारोबार गर्न आँखा स्क्यान गर्नुपर्ने

काठमाडौं । ओपनएआईका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले वर्ल्ड कोइन नामक क्रिप्टोकरेन्सी प्रोजेक्ट सार्वजनिक गरेका छन् । यस प्रोजेक्टले प्रयोगकर्ताहरूको डिजिटल पहिचान प्रमाणित गर्ने र उनीहरूलाई वित्तीय पहुँच दिने बताइएको छ । यसका लागि कम्पनीले प्रयोगकर्ताहरूलाई वर्ल्ड आईडी (World ID) दिइने भएको छ ।

कम्पनीले यसलाई ‘डिजिटल पासपोर्ट’को रूपमा वर्णन ‍गरेको छ । यसले अनलाइनमा वास्तविक व्यक्ति र एआई बटको पहिचान गर्नेछ । प्रयोगकर्ताले आफ्नो वर्ल्ड आईडी प्राप्त गर्न भने ‘अर्ब्’ (Orb) नामक बायोमेट्रिक इमेजिङ डिभाइसबाट आँखा स्क्यान गर्नुपर्ने बताइएको छ ।

यो प्रक्रिया पूरा भए मात्र ‘अर्ब्’ ले प्रयोगकर्ताको वर्ल्ड आईडी बनाउने छ । यसका लागि कम्पनीले विश्वरभर विभिन्न ठाउँमा १५०० बढी ‘अर्ब्’ राख्ने भएको छ । यसबाट बन्ने आईडीहरूलाई ब्लकचेनमा राखिने छ । यसो गर्नुको कारण तिनलाई विकेन्द्रीकरण (Decentralized) र सुरक्षित गर्नु रहेको कम्पनीले बताएको छ ।

यसबाट कोही एउटा समूहले ती वर्ल्ड आईडीहरूलाई नियन्त्रण गर्न नसक्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार विगत तीन वर्षदेखि यस प्रोजेक्टमा काम भइरहेको थियो । त्यो क्रममा प्रोजेक्टको बेटा भर्सन सार्वजनिक भएको थियो । त्यसमा हालसम्म २० लाख बढीले साइनअप गरिसकेका छन् ।

अब भने २० देशको ३५ भन्दा बढी सहरमा यस प्रोजेक्टलाई अगाडि बढाउने कम्पनीकाे योजना छ । यसका लागि केही देशहरूमा नयाँ प्रयोगकर्ताहरूलाई कम्पनीले आफ्नो ‘डब्लूएलडी’ (WLD) नामक क्रिप्टोकरेन्सी टोकन दिने भएको छ ।

यस प्रोजेक्ट सार्वजनिक गरेपछि ट्वीट गर्दै संस्थापक साम अल्टम्यानले जेनेरेटिभ एआईको युगमा वर्ल्ड आईडीहरू आवश्यक भएको बताएको छन् । यदि यो प्रोजेक्ट सफल भए यसले जेनेरेटिभ एआईले पार्ने आर्थिक प्रभावहरूबाट मानिसहरूलाई बचाउने उनले लेखेका छन् । प्रोजेक्टमा अल्टम्यानसँगै एलेक्स ब्लानिया र म्याक्स नोभेन्डस्टर्न सहसंस्थापकका रुपमा आवद्ध छन् ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १३:५