close

अर्काले लगिसकेको ह्यान्डल खोसेर फेरियो ‘एक्स’ को आधिकारिक ह्यान्डल

टेकपाना टेकपाना

साउन १०, २०८० १५:२२

अर्काले लगिसकेको ह्यान्डल खोसेर फेरियो ‘एक्स’ को आधिकारिक ह्यान्डल

काठमाडौं । ट्वीटरको आधिकारिक ह्यान्डल परिवर्तन भएको छ । यसअघि @twitter रहेकोमा युजर ह्यान्डल @x राखिएको छ । यससँगै करिब छ करोड ६० लाखभन्दा बढी फलोअर भएको ट्वीटर ह्यान्डल आधिकारिक रूपमा एक्समा परिणत भएको छ ।

@twitter ह्यान्डलको नयाँ अकाउन्ट खोलिएको छ । सो ह्यान्डलको बायोमा अकाउन्ट एक्टिभ नभएको उल्लेख गरिएको छ भने अपडेटका लागि @x फलो गर्न भनिएको छ । यसअघि ट्वीटरले अहिले प्रयोग गरेको @x ह्यान्डल जेन एक्स ह्वाङ भन्ने व्यक्तिले सन् २००७ मै लगिसकेका थिए ।

उनको कम्पनी ओरेन्ज फोटोग्राफीका लागि ह्वाङ फोटो तथा भिडिओ राख्ने गर्थे । @x ह्यान्डल ट्वीटरले लिएसँगै पहिलेको एक्सको ट्वीटर ह्यान्डललाई @x12345678998765 दिइएको छ । सोही ट्वीटर ह्यान्डलबाट एक ट्वीट गर्दै 'जे भयो राम्रै भयो' भन्ने आशय व्यक्त गरिएको छ । यसको अर्थ ट्वीटरले उक्त ह्यान्डल खोसेको हो वा ती व्यक्तिलाई रकम दिएर खरिद गरेको हो स्पष्ट छैन ।

उनले राखेको ट्वीटमा रिप्लाई गर्दै धेरैले ह्यान्डल खोसिएको हो वा खरिद गरिएको हो भन्ने विषय जान्न खोजेका छन् । तर, उक्त ट्वीटर ह्यान्डल भएका व्यक्तिले कुनै जवाफ दिएका छैनन् ।

त्यसबाहेक पनि @twittersupport, @twitterdev जस्ता ह्यान्डल निष्क्रिय छन् । त्यसको ठाउँमा @support, @xdeveloper र @api ह्यान्डल सक्रिय छन् । यी सबै ह्यान्डलबाट चराको लोगो हटाइएको छ ।

यीबाहेक ट्वीटरको विभिन्न देशका क्षेत्रीय ह्यान्डल जस्तै; @twitterjapan @twitterindia परिवर्तन हुन बाँकी नै छ । कम्पनीले यसअघि सञ्चालन गरेको ट्वीटर ब्लुलाई @xblue नाम दिइएको छ ।

सोमबार ट्वीटरलाई औपचारिक रूपमा एक्सलाई रिब्रान्ड गरिसकेपछि ट्वीटरको नाम र लोगो हटाउने काम जारी छ । हालसम्म ट्वीट शब्दलाई भने कम्पनीले विस्थापन गरिसकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १८:१९