close

अन्तरिक्षमा सेक्सः अनुसन्धान गर्न आह्वान गर्दै वैज्ञानिक

टेकपाना टेकपाना

साउन ११, २०८० २०:१

अन्तरिक्षमा सेक्सः अनुसन्धान गर्न आह्वान गर्दै वैज्ञानिक

 

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सी नासाका अनुसार आजका मितिसम्म अन्तरिक्षमा कसैले पनि यौनसम्पर्क राखेका छैनन् । तर, अन्तरिक्ष पर्यटनको अवधारणा अगाडि बढेसँगै यसबारे अध्ययन हुने भएकाे छ ।

जेफ बेजोसको ब्लू ओरिजिन र रिचर्ड ब्रान्सनको भर्जिन ग्यालेक्टिक लगायतका निजी अन्तरिक्ष कम्पनीहरूले मानिसहरूलाई पर्यटकका रूपमा अन्तरिक्षमा पुर्‍याउनका लागि तयारी थालेका छन् । त्यससँगै अन्तरिक्षमा यौन सम्पर्क (सेक्स) बारे खोज अन्वेषण गर्नुपर्ने विज्ञहरूले बताएका छन् । क्रानफिल्ड विश्वविद्यालयका बायोएनालिटिकल टेक्नोलोजीका प्राध्यापक डेभिड कुलेनले अन्तरिक्षमा सेक्सको नतिजाका लागि तत्काल अनुसन्धान गर्न आह्वान गरेका छन् । 

यसो त नासाले अन्तरिक्षमा यौन सम्बन्धमाथि स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छैन । तर, नासाको अन्तरिक्षयात्री आचारसंहिताले 'विश्वासको सम्बन्ध' र 'व्यावसायिक स्तरहरू' सधैं कायम राख्न आग्रह गरेको छ । 

हुन त नासाले विवाहित जोडीलाई सँगै अन्तरिक्ष जानबाट प्रतिबन्ध लगाएको छ । यसको कारण उनीहरूबीच अन्तरिक्षमै यौन सम्पर्क हुन्छ भन्ने चिन्ताभन्दा पनि उनीहरू जुन मिसनले अन्तरिक्षमा जान्छन्, त्यसमा ध्यान केन्द्रित गर्न नसक्लान कि भन्ने चिन्ताले हो । 

यसका बाबजुद पनि प्राध्यापक कुलेनले अबको एक दशकमा मानिसहरूबीच यौन सम्बन्ध हुने दाबी गरेका छन् । 

द कन्भरसेसनमा कुलेनले लेखेको लेखलाई उद्धत गर्दै डेली मेलले लेखेको छ, “अन्तरिक्ष यात्रा अब व्यावसायिक अन्तरिक्ष यात्रीहरूका लागि मात्र आरक्षित छैन । अन्तरिक्ष पर्यटकहरू‍लाई पनि विभिन्न पक्षले अन्तरिक्ष जान प्रेरित गरेका छन् । अन्तरिक्ष यानको विकासले गर्दा हामी अन्तरिक्षमा सेक्स सम्भवतः अर्को १० वर्षभित्र हुनेछ भन्ने निष्कर्षमा पुगेका छौं ।”

तर, अन्तरिक्षमा यौन सम्बन्ध पृथ्वीमा जस्तो सजिलै हुने छैन । यसको मुख्य समस्या हो, माइक्रोग्र्याभिटी अर्थात अन्तरिक्षमा हुने कम गुरुत्वाकर्षण बल  । यसले गर्दा अन्तरिक्षयात्रीहरू भौतिक रूपमा सँगै हुन सक्दैनन् । कम गुरुत्व हुनुले उनीहरूलाई भौतिक क्रियाकलापमा असर त गर्छ नै, त्यसबाहेक पनि शरीरमा असर गर्छ ।

एआई सिग्नल रिसर्चका विज्ञ लोरी मेग्सका अनुसार कम गुरुत्वाकर्षण हुने क्षेत्रमा शरीरमा हुने रक्तसञ्चारलाई असर गर्छ । जसले गर्दा पुरुषको यौनाङ्ग उत्तेजित हुन सक्दैन । “अन्तरिक्षमा कम गुरुत्वाकर्षण हुँदा रगत शरीरको तलपट्टिको भागमा बग्न पाउँदैन । त्यसको सट्‍टा रगत छाती र टाउकोमा जान्छ । जसले गर्दा अन्तरिक्ष यात्रीको अनुहार सुन्निने, घाँटीका नशाहरू फुल्ने हुन्छ,” लोरीले नासाका लागि लेखेको लेखमा भनेकी छिन् । 

अन्तरिक्षमा अन्तरिक्षयात्रीबीच यौन सबन्ध हुन बाँकी नै छ । यस्तोमा प्राध्यापक कुलेन अन्तरिक्षमा यौन सम्पर्क गराउनका लागि कुनै समस्या नभएको दाबी गर्छन् । उनका अनुसार अन्तरिक्षयात्रीबीच अन्तरिक्षमा यौन सम्बन्ध भएर बच्चा बनाउन नसक्नु ठूलो कुरा हो । यसका लागि थप अनुसन्धान आवश्यक भएको उनी बताउँछन् । यसलाई व्याख्या गर्दै कुलेन भन्छन्, “अन्तरिक्ष पर्यटन यात्रुहरू बढीमा एक साता बस्न पाउँछन् । यति छोटो समयमा मानव प्रजननको पहिलो चरण मात्र सम्पन्न हुन्छ ।”

उनी अगाडि लेख्छन्, “यदि महिला अन्तरिक्षयात्री गर्भवती भएको थाहा भएमा उनीहरूलाई अन्तरिक्षमा जान दिइँदैन । तर, अन्तरिक्ष पर्यटनका सन्दर्भमा जान नदिने भन्ने नहुन सक्छ । कतिपय अवस्थामा महिलालाई बेथा नलागेसम्म गर्भवती भएको थाहा हुँदैन ।”

अन्तरिक्ष उडानले मानिसको शरीरमा असर गर्ने अनुसन्धानले देखाएको छ । उदाहरणका लागि लामो समयसम्म अन्तरिक्षमा रहने यात्रीको हड्डी र माशंपेशी कमजोर हुने, धमिलो देख्ने र क्यान्सर जस्तो रोगको उच्च जोखिममा पर्ने यसअघि सार्वजनिक भएका विभिन्न अध्ययनले के देखाएका छन् । 

सन् २०१६ मा चिनियाँ वैज्ञानिकले अन्तरिक्षमा मुसाको भ्रूण उमारेका थिए । त्यसबाट केही भ्रूण ब्लास्टोसाइट भनिने कोषिकाको बलमा विकास भएको पाइएको थियो । यद्यपि अन्तरिक्षमा मानिसको भ्रूण उमार्न कत्तिको सुरक्षित हुन्छ भन्ने कुरा स्पष्ट छैन । प्रोफेसर कुलेन भने अन्तरिक्षमा यौन सम्बन्ध हुनु र त्यसबाट महिला गर्भवती हुने विषय निकै जोखिमयुक्त र चुनौतीपूर्ण हुने बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० २२:६