close

सरकारले झुक्याएपछि कृषि औजार कारखाना चलाउन म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

हिक्मत आचार्य हिक्मत आचार्य

साउन १७, २०८० १२:२६

सरकारले झुक्याएपछि कृषि औजार कारखाना चलाउन म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले वीरगन्ज कृषि औजार कारखानाका लागि खर्च जुटाउन आफ्ना मेडल दोस्रो पटक बिक्रीमा राखेका छन् । यसअघि समेत लिलामीमा राखिएका मेडलहरू कोभिडका कारण लिलामी नभएपछि उनले दोस्रो पटक लिलामीमा राखेका हुन् । 

“कोभिडभन्दा अगाडि मैले आलोक सुवेदी भाइलाई मेरा मेडल लिलामीमा बिक्री गरिदिन जिम्मा दिएको थिएँ,” टेकपानासँग कुरा गर्दै पुनले भने, “पहिलो पटक बिक्री नभएपछि अहिले दोस्रो पटक मैंले मेडल बिक्री गर्न हुकुम दिएको छु ।” 

मेरो अड्डाका सीईओ समेत रहेका सुवेदीले फेसबुक पोस्टमार्फत पुनः मेडल लिलामीमा राखिएको जानकारी दिएका छन् ।

“महावीर पुन दाइले पुनः आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडलहरू लिलामीमा राख्ने निर्णय गर्नु भएको छ,” सुवेदीले फेसबुक पोस्टमा लेखेका छन्, “लिलामीबाट प्राप्त हुने सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकम वीरगन्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिनेछ ।” 

उनले अगाडि लेखेका छन्, “स्मरण रहोस्, नेपाल सरकारले कृषि कारखानाको मर्मत सम्भार र मसिनरी औजार थप गर्नका लागि पहिलो पटक अनुदान दिने भने पनि अहिले आएर ऋण दिने भनेको छ ।”

लिलामीमा राखिएका पाँच ओटा मेडलको लिलामी मूल्य क्रमशः २५०० डलरदेखि १० हजार डलरसम्म राखिएको छ । लिलामीमा राखिएका मेडलहरूमध्ये एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘द म्यागासेसे पुरस्कार’को लिलामी मूल्य १० हजार डलर (करिब  १३ लाख १३ हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै पुनले पाएको डा. हर्क गुरुङ पर्वतीय पुरस्कारको मेडल पनि लिलामीमा राखिएको छ । जसको लिलामी मूल्य पाँच हजार डलर (करिब छ लाख ५६ हजार रुपैयाँ) छ । यसैगरी पुनले सन् २०१४ मा पाएको इन्टरनेट हल अफ फेम पुरस्कार पनि लिलामीमा राखिएको छ ।

यसको लिलामी मूल्य सात हजार ५०० डलर (करिब नौ लाख ८५ हजार रुपैयाँ) तोकिएको छ । 

लिलामीमा पुनले पाएको राष्ट्र दीप पदक पनि राखिएको छ । यसको लिलामी मूल्य दुई हजार ५०० डलर (करिब तीन लाख २८ हजार रुपैयाँ) रहेको छ । त्यस्तै लिलामीमा राखिएको पुनको अर्को पुरस्कार हो, ‘युनिभर्सिटी अफ निर्बास्का अनर ग्रयाजुएट अवार्ड’ ।

यसको लिलामी मूल्य पाँच हजार डलर (करिब करिब छ लाख ५६ हजार रुपैयाँ) राखिएको छ ।

लिलामीमा राखिएका पदक खरिद गर्न चाहने व्यक्तिले यहाँ क्लिक गरी आलोक सुवेदीलाई फेसबुकमा मेसेज पठाउन सक्नेछन् । सुवेदीले यी पदकहरू केही दिनमा राष्ट्रिय आविष्कार केन्द्रमा राखिने जानकारी दिएका छन् । 

(द रामोन म्यागासेसे पुरस्कार (The Ramon Magsaysay Award also commonly known as Asia's Nobel Prize). Starting Bid: $10,000.00)

(डा. हर्क गुरुङ पर्वतिय पुरस्कार (Dr. Harka Gurung Mountaineering Award) - Starting Bid: $5,000.00)

 

(इन्टरनेट हल अफ फेम २०१४ (Internet Hall of Fame 2014) Starting Bid: $7,500.00)

 


 

(राष्ट्र दीप पदक (Rastra Deep Title and Honor) - Starting Bid: $2,500.00)

 

(University of Nebraska (Kearney) Honor Graduate Award - Starting Bid: $5,000.00)

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १३:२९