close

यसरी हुनसक्छ वाई-फाई, ब्लुटुथ र एफएम रेडियो ह्याक

सञ्जीवन राई सञ्जीवन राई

साउन १७, २०८० १७:२७

यसरी हुनसक्छ वाई-फाई, ब्लुटुथ र एफएम रेडियो ह्याक

काठमाडौं । अर्घाखाँचीका विशाल अर्याल सफ्टवेरिका कलेज, काठमाडाैंमा इथिकल ह्याकिङ एवं साइबर सेक्युरिटी विषयमा अध्ययनरत विद्यार्थी हुन् । स्नातक तहकाे पढाइसँगै साइबर सुरक्षा इन्जिनियरका रुपमा समेत उनी कार्यरत छन् । सूचना प्रविधिमा उनकाे सानैदेखि रुचि थियो ।

कक्षा १२ पछि ह्याकिङ पढ्न भनेर नै उनी सफ्टवेरिकामा भर्ना भएका थिए । यहाँ आएपछि यस क्षेत्रमा थप अध्ययन तथा अनुसन्धान गर्ने अवसर प्राप्त गरे । 

उनले रेडियो फ्रिक्वेन्सीमा अनुसन्धान कम हुने चाल पाएका थिए । यसकारण यसमा आधारित भएर कुनै परियोजनामा काम गर्ने सोच बनाए । उनको त्यो सोच हालै सम्पन्न भएको कलेजको ‘टेक एक्स्पो २०२३’ मा पूरा भयो ।

उनले दुई जना साथीसँग मिलेर ‘रेडियो फ्रिक्वेन्सी विश्लेषण र आक्रमणहरू’ नामक परियोजना बनाए । यसअन्तर्गत कुनै पनि ह्याकरले कसरी फ्रिक्वेन्सी ह्याक गर्न सक्छ भन्ने कुरा देखाइएकाे थियाे ।

‘रेडियो फ्रिक्वेन्सी विश्लेषण र आक्रमणहरू’

अर्यालसहित उनका सहपाठीहरू रोमियो कार्की र भिष्मराज तिमिल्सिनाले यस परियोजना तयार पारेका हुन् । कसरी रेडियो फ्रिक्वेन्सी ह्याक हुन्छ ? कसरी आक्रमणकारीहरूले फ्रिक्वेन्सी परिवर्तन गर्छन् ? डेटा अलर्ट कसरी गर्छन् ? लगायतका कुरा उनीहरूले उक्त डेमोमार्फत देखाएका थिए । 

मानिसले दैनिक जीवनमा फ्रिक्वेन्सीमा आधारित भएका विभिन्न डिभाइसहरू चलाइरहेका हुन्छन् । जस्तै; रेडियो, टेलिभिजन, मोबाइल फोन, वाई-फाई राउटर, ब्लुटुथ उपकरण, राडार प्रणालीहरू, आरएफआईडी ट्यागहरू, रिमोट कन्ट्रोलर आदि । यी सबै डिभाइसहरूको फरक-फरक रेडियो फ्रिक्वेन्सी हुन्छ ।

तिनै फ्रिक्वेन्सीहरूमा आधारित भएर ती डिभाइसहरूले काम गरिरहेका हुन्छन् । तर तिनलाई मानिसको नाङ्गो आँखाले भने हेर्न सकिन्न । ह्याकरहरूले त्यस्ता डिभाइसमा हुने फ्रिक्वेन्सीहरूको ह्याक गर्न सक्छन् । रेडियो फ्रिक्वेन्सीलाई ह्याक गरेर ह्याकरहरूले विभिन्न गलत सूचना फैलाउन सक्छन् भन्ने देखाउन यसमा काम गरेको समूह टोली प्रमुख अर्याल बताउँछन् ।

दायाँबाट रोमियो कार्की, भिष्मराज तिमिल्सिना र विशाल अर्याल 

सामान्यत: रेडियो स्टेसनहरूको ब्रोडकास्ट सिग्नललाई गैरकानूनी तरिकाले नियन्त्रणमा लिनु रेडियो हाइज्याक हो । यसलाई रेडियो ह्याकको नामले पनि चिनिन्छ । सरकारसँग अनुमति नलिई कुनै फ्रिक्वेन्सी खडा गरी त्यसमा आफ्नो सन्देशहरू प्रसारण गर्नु पनि रेडियो ह्याक हो । तर फ्रिक्वेन्सी ह्याक एफएममा मात्र सीमित छैन । यो अन्य कुराहरूमा पनि हुन सक्छ । 

“ह्याकरहरूले फ्रिक्वेन्सीलाई प्रयोग गरेर टाढा राखेको बम विष्फाेट गर्न, डिभाइसहरू बीच भएको सञ्चार ‍थाहा पाउन, गलत तथा मिथ्या खबर फैलाउन, रिमोट कन्ट्रोल गाडी वा ब्लुटुथ फ्रिक्वेन्सी ह्याक गर्न सक्छन्,” परियोजना टोलीका अर्का सदस्य रोमियो कार्की  बताउँछन् । 

सामान्य भाषामा बुझ्दा कुनै एउटा रेडियो स्टेसनले टावर तथा एन्टेनाको माध्यमबाट आफ्नो निश्चित फ्रिक्वेन्सी पठाइरहेको हुन्छ । त्यहाँ स्टेसनले आफ्ना सामग्रीहरूको प्रसारण गरिरहेको हुन्छ । जसलाई कुनै ठाउँमा भएको रेडियो डिभाइसले क्याप्चर गरेर श्रोतालाई सुनाउने गर्छ । अब ह्याकरहरूले उक्त फ्रिक्वेन्सीजस्तै कुनै अर्को नक्कली फ्रिक्वेन्सी बनाउँछन् । त्यसले गर्दा रेडियोको फ्रिक्वेन्सीमा समस्या उत्पन्न हुन्छ ।

तर यदि ह्याकरहरूको फ्रिक्वेन्सी ‍शक्तिशाली छ भने रेडियो डिभाइसले त्यही समात्छ । अब नियमित रेडियो कार्यक्रम सुनिरहेका श्रोताहरू ह्याकरले प्रसारण गरेकाे उक्त कुरा सुन्न बाध्य हुन्छन् । रेडियो फ्रिक्वेन्सी ह्याक भए यस्तै हुन्छ । 

“चुनावजस्तो संवेदनशील समयका बेला ह्याकरहरूले यस्तो गर्न सक्छन् । गाउँतिर अझै पनि सञ्चारको माध्यम रेडियो हो,” समूहका अर्का सदस्य भिष्मराज तिमिल्सिना भन्छन्, “उनीहरूलाई लक्षित गरेर ह्याकरहरूले कुनै पनि एफएमको नक्कली फ्रिक्वेन्सी बनाएर गलत सन्देश प्रसारण गर्न सक्छन् ।” 

यसबाहेक ह्याकरहरूले आफ्नै रेडियो स्टेसन (गैरकानूनी तरिकाले) बनाएर कुनै फ्रिक्वेन्सीमा आफूले चाहेको कुरा प्रसारण गर्नसक्ने विशाल अर्याल सुनाउँछन् ।

“अझै पनि धेरैजसो डिजिटल डिभाइसहरु रेडियो फ्रिक्वेन्सीमा आधारित छन् । ह्याकरहरूले तिनलाई ‘इन्टरसेफ्ट’ वा क्याप्चर गर्न सक्छन् । जसमा उनीहरूले पहिलेको भएको सूचना फेरिदिन सक्छन्,” उनी अगाडि भन्छन्, “केही गरी उनीहरूले टेलिकम अपरेटरहरूको फ्रिक्वेन्सीलाई क्याप्चर गर्न सके अथवा आफ्नै सेलफोन टावर बनाउन सके भने त्यस नेटवर्कमा भएको कुराकानी सुन्न सक्छन् ।”

 

२.४ गीगाहर्ज फ्रिक्वेन्सीको स्पेक्ट्रम विश्लेषण गर्दाको भिजुअल


सरल भाषामा बुझ्दा फ्रिक्वेन्सी एक प्रकारको तरङ्ग हो, यसले सूचना तथा सन्देशलाई बोकिरहेको हुन्छ । यसमा हुने कमजोरीलाई टेकेर ह्याकरहरूले ह्याकिङ गर्न सक्ने टोली परियाेजना टाेलीका प्रमुख अर्यालको भनाइ छ । रेडियो एफएम हाइज्याक गर्ने बाहेक कुनै ठाउँको वाई-फाई जाम गर्ने, वाकिटकीमा गरेको कुराकानी थाहा पाउने लगायतका आक्रमण पनि ह्याकरहरूले फ्रिक्वेन्सीबाट गर्न सक्ने उनी सुनाउँछन् ।

उनीहरूले पनि फ्रिक्वेन्सीको कमजोरीलाई लिएर सञ्चालन भइरहेको फ्रिक्वेन्सीमा कसरी आफ्नो सामग्री प्रसारण गर्न सकिन्छ भन्ने डेमो देखाएका थिए । फ्रिक्वेन्सीमा यस्तो पनि आक्रमण हुन सक्छ है भनेर सचेतनाका लागि यो परियोजनामा काम गरेको उनी बताउँछन् । 

यसरी गरिने ह्याकिङबाट श्रोताको डिभाइस तथा सिस्टममा असर भने नपर्ने, तर यसले डेटा परिवर्तन गर्न सक्ने उनको भनाइ छ । त्यस्तै रेडियो ह्याक भएको थाहा पाउने कुनै त्यस्तो प्रविधि नभएको उनी बताउँछन् । तर फ्रिक्वेन्सी धेरै ‘नोइजी’ हुनु, एउटै फ्रिक्वेन्सी धेरै ठाउँमा देखिनु रेडियो ह्याक भएको सङ्केत हुन सक्ने उनी उल्लेख गर्छन् ।

यद्यपि विभिन्न सुरक्षाका उपायहरू लागू गर्दा रेडियो फ्रिक्वेन्सी ह्याकिङबाट बच्न सकिने उनी सुनाउँछन् । त्यसो गर्दा आफ्नो उपकरण र सञ्चार प्रणालीहरू सुरक्षित हुने उनीहरूको तर्क छ । साथै रेडियो फ्रिक्वेन्सी ह्याकिङबाट जोखिम कम गर्ने उपाय उनीहरूले बताएका छन्, जुन यस प्रकार छन्:

-इन्क्रिप्सन (Encryption): रेडियो फ्रिक्वेन्सीहरूमा प्रसारित डेटा सुरक्षाका लागि बलियो इन्क्रिप्शन एल्गोरिदमहरू प्रयोग गर्नुपर्छ । ह्याकरहरूले फ्रिक्वेन्सी ह्याक गरे पनि त्यहाँ भएका कुराहरू यसैका कारण बुझ्न सक्दैनन् । 

-प्रमाणीकरण (Authentication): रेडियो फ्रिक्वेन्सी नेटवर्कमा जोडिने उपकरण र प्रयोगकर्ताहरूको प्रमाणीकरण गर्नुपर्छ । यसले अनाधिकृत पहुँचबाट हुने ह्याकिङबाट जोगाउँछ ।

-फ्रिक्वेन्सी हपिङ स्प्रेड स्पेक्ट्रम (FHSS) वा डाइरेक्ट सिक्वेन्स स्प्रेड स्पेक्ट्रम (DSSS): यी प्रविधिहरू प्रयोग गर्दा सिग्नललाई विभिन्न फ्रिक्वेन्सीहरूमा छिटो छिटो ‘हप’ अर्थात् ट्रान्सफर गर्छ । त्यसले गर्दा ह्याकरहरूलाई डेटा चोर्न रोक्ने र चोरी हाले पनि त्यहाँ भएको बुरा बुझ्न गाह्राे बनाउँछ ।

-सिग्नल मोनिटोरिङ (Signal Monitoring): यस्ता ह्याकिङबाट बच्न रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमलाई लगातार निगरानी गर्नुपर्छ । यसो गर्दा असामान्य वा अनाधिकृत गतिविधिहरू पत्ता  लाग्छ । यसले सम्भावित ह्याकिङका प्रयासहरू सुरुमै पहिचान हुन सक्छ ।

र‍ेडियोको कभरेज कसरी मापन गरिन्छ भनेर जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १८:६