close

एलन मस्क भन्छन्ः टिम कुकलाई भनेर भए पनि एक्सको सब्सक्रिप्सन घटाउँछु

टेकपाना टेकपाना

साउन १८, २०८० १८:४१

एलन मस्क भन्छन्ः टिम कुकलाई भनेर भए पनि एक्सको सब्सक्रिप्सन घटाउँछु

काठमाडौं । एलन मस्कले एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई भनेर एप स्टोरमा एक्सको सब्सक्रिप्सन शुल्क घटाउने योजनामा रहेको बताएका छन् । एक्सका क्रियटरको आम्दानी बढाउन एप स्टोरको शुल्क घटाउनुपर्ने भन्दै मस्कले आफ्नो अनुरोधमा छिट्टै शुल्क घटाउने बताएका हुन् ।

ट्वीटरका रूपमा चिनिने एक्स प्लेटफर्म ईन-एप पर्चेज मोडेलमा गएपछि एप्पलले बढी कर शुल्क लगाएको मस्कको भनाइ छ । एक्सले क्रियटरका लागि सब्सक्रिप्सन फिचर ल्याएको थियो । यदि कुनै पनि क्रियटरले सब्सक्राइबरको अप्सन अन गरेको खण्डमा उनीहरूले आफूलाई सब्सक्राइब गर्ने प्रयोगकर्ताका लागि मात्र विशेष पोस्ट (ट्वीट) गर्न सक्छन् । 

“यदि तपाईं सक्नुहुन्छ भने आफूलाई जति क्रियटरको कन्टेन्ट रोचक लाग्छ, उनीहरूलाई सब्सक्राइब गरिदिनुहोला,” उनले बिहीबार एक्स पोस्टमा भनेका छन्, “संसारभरका क्रियटरले एक्समा उत्कृष्ट कन्टेन्ट राखिरहेका हुन्छन् । तर, उनीहरूको जीवन त्यति सहज नहुन सक्छ । त्यसैले केही सय डलर नै उनीहरूको जीवन परिवर्तन गरिदिन सक्छ ।”

उनले त्यसअघि उक्त प्लेटफर्मले क्रियटरको सब्स्क्रिप्सनबाट आएको कुनै पनि रकम १२ महिनासम्म नलिने घोषणा गरेको उल्लेख गरेका छन् । कम्पनीले १२ महिनापछि भने क्रियटरको सब्सक्रिप्सनबाट उठेको रकमको १० प्रतिशत लिने बताएको थियो ।

मस्कले भने उक्त नीति परिमार्जन गरेको जनाएका छन् । नयाँ नीतिअनुसार कन्टेन्ट क्रियटरले जहिलेसम्म भए पनि पहिलो एक लाख डलर बिना कुनै शुल्क निकाल्न पाउनेछन् । त्यसपछि भने १० प्रतिशत चार्ज काटिनेछ । यद्यपि १२ महिनासम्म कुनै सेवा शुल्क नलिने नीति यथावत् छ । 

“एप्पलले ३० प्रतिशत चार्ज लिन्छ,” उनले एक्स पोस्टमा लेखेका छन्, “तर म क्रियटरलाई अधिकतम आम्दानी गर्न सघाउन यो विषयमा टिम कुकसँग कुरा गर्नेछु ।”

ईन-एप पर्चेज अन्तर्गत एप स्टोरले लिने शुल्क घटेको अवस्थामा क्रियटरले बढी रकम पाउने मस्कको भनाइ छ । तर, मस्कले भनेको टिम कुकले मान्छन् वा मान्दैनन् स्पष्ट छैन ।

यदि एक्सलाई यस्तो सुविधा दिइयो भने अन्य डेभलपरले एप्पलमाथि प्रश्न उठाउनेछन् । यो कुरा कसरी सम्भव हुन्छ भन्ने विषयमा एक्स र एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

एक्सले क्रियटरलाई दिने रकम बढाइरहेको भएपनि पछिल्लो समय आफ्नै आम्दानी बढाउन संघर्ष गरिरहेको छ । मस्कले हालै एक्सको विज्ञापनदाताबाट हुने आम्दानी ५० प्रतिशतले घटेको उल्लेख गरेका थिए ।

विज्ञापनदाताबाट हुने आम्दानी घट्दै गएपछि त्यसको विकल्पमा कम्पनी ट्वीटर ब्लुमा बढी केन्द्रित भएको बताइएको छ । विज्ञापनदातामा पूर्ण रूपमा निर्भर नहुन एक्समा छ करोड ४० लाख बढी प्रयोगकर्ताले ब्लु सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १८:४१