close

हराएका रिचार्ज कार्ड खरिद गर्ने ग्राहक ठगिने निश्चित, अब के गरी जोगिने ?

टेकपाना टेकपाना

साउन २४, २०८० १८:४५

हराएका रिचार्ज कार्ड खरिद गर्ने ग्राहक ठगिने निश्चित, अब के गरी जोगिने ?

काठमाडौं । बुधबार नेपाल टेलिकम (नमस्ते) को २० हजार रिचार्ज कार्ड हराएको समाचार बाहिर आयो । रु. ५० का दरका रिचार्ज कार्डको मूल्य हिसाब गर्ने हो भने १० लाख रुपैयाँ हाराहारी हुन जान्छ ।

तर, ती रिचार्ज कार्ड सम्बन्धित ठाउँसम्म नपुग्दै हराएकाले एक्टिभेट भइसकेका छैनन् । जसले गर्दा उक्त रिचार्ज कार्ड कागजको टुक्रा समान भएका छन् । अर्थात् हराएका रिचार्ज कार्डमध्ये कुनै पनि रिचार्ज कार्ड प्रयोग गर्दा सिममा ब्यालेन्स लोड हुँदैन ।

टेलिकमले सूचना जारी गर्दै ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद तथा बिक्री वितरण नगर्न ग्राहक तथा वितरकहरूलाई अनुरोध गरेको छ ।

यसबाट जोगिन तपाईंले रिचार्ज कार्ड खरिद गर्दा सिरियल नम्बर ख्याल गर्नुपर्ने हुन्छ । तपाईंले खरिद गरेको ५० रुपैयाँको नमस्तेको रिचार्ज कार्डमा ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० बीचको कुनै पनि नम्बर छ भने रिचार्ज खरिद नगर्नुहोस् ।

यदि उक्त सिरियल नम्बरका रिचार्ज कार्ड कतै भेटाएमा नजिकैको टेलिकम कार्यालयमा बुझाइदिनुहाेस् ।

त्यस्ता रिचार्ज कार्ड ठगी हुनबाट कसरी जोगिने ?

आधिकारिक डिलरबाट मात्र रिचार्ज खरिद गर्नुहोस्

टेलिकमका अनुसार ५० रुपैयाँका दरका मात्र रिचार्ज कार्ड हराएका हुन् । त्यसैले ५० को रिचार्ज रिचार्ज कार्ड खरिद गर्दा आधिकारिक डिलरबाट मात्र खरिद गर्नुहोस् । आधिकारिक डिलरले आधिकारिक स्रोतबाट खरिद गर्ने भएकाले ठगी हुने सम्भावना निकै कम हुन्छ । 

सस्तोमा रिचार्ज कार्ड बिक्री गरेको छ भने शंका गर्नुहोस् 

हामीले जति रुपैयाँको रिचार्ज कार्ड खरिद गर्‍यौं हाम्रो डिभाइसमा त्यति नै रकम आउँछ । केही ठाउँमा सेवाशुल्क वापत लिने रकम केही बढी हुनसक्छ । टेलिकमका हराएका रिचार्ज भेटाउने व्यक्तिले त्यसलाई सस्तो मूल्यमा बिक्री नगर्ला भन्न सकिँदैन ।

त्यसैले कसैले कुनै पनि बहानामा रिचार्ज तोकिएको भन्दा सस्तोमा बिक्री गर्न लागेको छ भने शंका गर्नुहोस् । यदि माथि उल्लेख भएको सिरियल नम्बर मिल्यो भने तुरुन्त नजिककैको टेलिकम कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।

माथि उल्लेख भएका सिरियल नम्बर मोबाइलको नोटमा सेभ गरेर राख्नुहोस् 

माथि उल्लेख गरिएको सिरियल नम्बर मोबाइलको नोटमा सेभ गरेर राख्नुहोस् । जतिबेला तपाईं ५० रुपैयाँको रिचार्ज कार्ड खरिद गर्न जानुहुन्छ, त्यो बेला उक्त नम्बर जाँच गरेर मात्र रिचार्ज खरिद गर्नुहोस् । 

अनलाइन रिचार्ज गर्नुहोस्

अनलाइन रिचार्ज गर्ने बानी बसाल्नुहोस् । अहिले डिजिटल वालेट, मोबाइल बैंकिङ लगायतका माध्यमबाट मोबाइलमा टपअप गर्न सकिन्छ । त्यस्तै पसलहरूमा पनि अहिले अनलाइनबाटै टपअप गरिदिने प्रवृत्ति बढेको छ । रिचार्ज गर्दा अनलाइन टपअप गर्ने/नगर्ने सोध्नुहोस् । यदि टपअपको सुविधा छ भने त्यही तरिका अपनाउनुहोस् ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १९:४०