close

माइक्रोसफ्टका कर्मचारीलाई ‘डिपसिक’ एप प्रयोगमा प्रतिबन्ध, के होला कारण ?

टेकपाना टेकपाना

बैशाख २९, २०८२ १६:१७

माइक्रोसफ्टका कर्मचारीलाई ‘डिपसिक’ एप प्रयोगमा प्रतिबन्ध, के होला कारण ?

 

काठमाडौँ। माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथले अमेरिकी सिनेटको एक सुनुवाइका क्रममा आफ्ना कर्मचारीलाई ‘डिपसिक’ नामक एआई एप प्रयोग गर्न प्रतिबन्ध लगाइएको खुलासा गरेका छन् । डेटा सुरक्षा र चिनियाँ प्रोपोगान्डाको जोखिमलाई उद्धृत गर्दै स्मिथले माइक्रोसफ्टले आफ्नो एप स्टोरमा पनि डिपसिकलाई स्थान नदिएको बताएका हुन् ।

“माइक्रोसफ्टमा हामी हाम्रा कर्मचारीलाई डिपसिक एप प्रयोग गर्न अनुमति दिदैँनौ,” स्मिथले भने । प्रयोगकर्ताको डेटा चीनमा स्टोर हुन सक्ने र डिपसिकका प्रतिक्रिया ‘चिनियाँ प्रोपोगान्डा’बाट प्रभावित हुन सक्ने जोखिमका कारण यो कदम चालिएको स्मिथले स्पष्ट पारे । 

डिपसिकको गोपनीयता नीतिले पनि प्रयोगकर्ताको डेटा चिनियाँ सर्भरमा स्टोर हुने र उक्त डेटा चिनियाँ कानुनको अधीनमा रहने कुरा उल्लेख गरेको छ । यस अन्तर्गत डिपसिकले चिनियाँ गुप्तचर निकायसँग सहकार्य गर्नुपर्ने हुन्छ । साथै डिपसिकले चिनियाँ सरकारले संवेदनशील मान्ने विषयमाथि कडा सेन्सरसिप लगाउने गरेको पनि बताइएको छ ।

टेकक्रन्चका अनुसार माइक्रोसफ्टले डिपसिकमाथि यस्तो प्रतिबन्धबारे सार्वजनिक रूपमा जानकारी दिएको यो पहिलो पटक हो । यद्यपि विभिन्न संघसंस्था र देशले डिपसिकमाथि कडा प्रतिबन्ध नै लगाइसकेका छन् । अमेरिकी वाणिज्य विभाग र अमेरिकी नौसेना लगायत विभिन्न सरकारी निकायले पनि यो विवादास्पद एआई मोडेलमाथि प्रतिबन्ध लगाइसकेका छन् । 

डिपसिक र च्याटजीपीटी जस्ता एआई मोडेलले प्रयोगकर्ताले दिने जानकारी र व्यक्तिगत डेटा सङ्कलन र स्टोर गर्ने तरिकाका कारण गोपनीयताका लागि चुनौती बनेको आरोप लाग्दै आएको छ । अमेरिकी कंग्रेसले विशेष रूपमा डिपसिकलाई राष्ट्रिय सुरक्षा र गोपनीयताका लागि ‘गम्भीर खतरा’को रूपमा वर्णन गरेको छ । 

कंग्रेसको प्रतिवेदनअनुसार डिपसिकले ‘च्याट हिस्ट्री, डिभाइसको विवरण र व्यक्तिले टाइप गर्ने तरिका’ समेतका डेटा सङ्कलन गर्छ । “नजिकबाट निरीक्षण गर्दा एपले जनवादी गणतन्त्र चीन (पीआरसी) मा डेटा पठाउने, प्रयोगकर्ताका लागि सुरक्षा कमजोरी सिर्जना गर्ने र चिनियाँ कानुनअनुसार सूचनालाई गोप्य रूपमा सेन्सर र हेरफेर गर्ने मोडेलमा निर्भर रहेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

यसबाहेक डिपसिक च्याटबटले एक महत्त्वपूर्ण डेटा ब्रिचको सामना पनि गरेको थियो । त्यस घटनामा डिपसिकबाट १० लाखभन्दा बढी रेकर्ड बाहिरिएका थिए । 

माइक्रोसफ्टको दोहोरो रणनीति ?
स्मिथले डिपसिकप्रति आलोचनात्मक टिप्पणी दिए पनि माइक्रोसफ्टले यसै वर्षको सुरुमा डिपसिक भाइरल भएपछि यसको आर वन (R1) मोडेल आफ्नो एज्योर क्लाउड सेवामा उपलब्ध गराएको थियो । तर, यो डिपसिकको च्याटबट एप आफैं उपलब्ध गराउनु भन्दा फरक कुरा हो । डिपसिक ओपन सोर्स भएकाले जो कोहीले पनि यो मोडेल डाउनलोड गर्न, आफ्नै सर्भरमा भण्डारण गर्न र डेटा बाहिर जान दिनबाट रोक्न सक्छन् । यद्यपि यो तरिका प्रयोग गर्दा प्रोपोगान्डा फैलाउने वा असुरक्षित कोड उत्पन्न गर्ने जस्ता अन्य जोखिम हट्दैन । 

सिनेट सुनुवाइका क्रममा स्मिथले माइक्रोसफ्टले डिपसिकको एआई मोडेलभित्र गएर ‘हानिकारक असर’ हटाउने गरी त्यसलाई ‘परिवर्तन’ गर्न सफल भएको दाबी गरेका थिए । माइक्रोसफ्टले एज्योरमा डिपसिकलाई राख्नुअघि सुरक्षा परीक्षण गरिएको बताएको थियो । तर यसमा के कस्ता परिवर्तन गरियो भन्नेबारे विस्तृत जानकारी दिएको छैन ।

डिपसिक एप माइक्रोसफ्टकै कोपाइलट इन्टरनेट सर्च च्याट एपको प्रत्यक्ष प्रतिस्पर्धी हो । यद्यपि माइक्रोसफ्टले आफ्ना सबै च्याट प्रतिस्पर्धीहरुलाई विन्डोज एप स्टोरबाट प्रतिबन्ध लगाएको छैन । उदाहरणका लागि पर्प्लेक्सिटी विन्डोज एप स्टोरमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १६:१७