close

युट्युबका ९ गोप्य फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

साउन २९, २०८० १४:२५

युट्युबका ९ गोप्य फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

काठमाडौं । युट्युबमा हामी आफूलाई पायक पर्ने समयमा रूचि लागेका विषयसँग सम्बन्धित भिडिओ हेरिरहेका हुन्छौं । युट्युबमा अभ्यस्त हुँदै जाँदा त्यसका कतिपय फिचरहरूबारे हामी जानकार हुन्छौं भने कतिपय फिचर हाम्रो नजरमा परेका हुँदैनन् ।

युट्युबमा हामीलाई थाहा नभएका त्यस्ता फिचर पनि छन्, जसले हामीलाई त्यस प्लेटफर्ममा राम्रो अनुभव दिन मद्दत गर्छन् । आज हामी सबै युट्युब प्रयोगकर्ताले थाहा पाउनै पर्ने नौ फिचरबारे जानकारी दिँदैछौं ।

युट्युब वाच टाइम 

युट्युबमा भिडिओ हेर्दै जाँदा हामी समय बितेको थाहै पाउँदैनौं । अन्तिममा आफ्नो अमूल्य समय खेर गएको महसुस हुन्छ । त्यसका लागि तपाईं आफ्नो वाच टाइम ट्रयाक गर्न सक्नुहुन्छ । 

युट्युबले प्रयोगकर्तालाई लक्षित गर्दै  'टाइम वाच्ड' नामको फिचर ल्याएको थियो । यही फिचरको सहायताले तपाईंले युट्युबमा कति समय बिताउनु भयो थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले आफ्नो फोनमा युट्युब खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- त्यहाँ रहेको ‘टाइम वाच्ड’ को अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले दैनिक कति हेर्नुभयो अनि हप्तामा कति समय हेर्नुभयो भन्ने डेटा देख्न सक्नुहुन्छ । 

ब्रेक लिन रिमाइन्डर सेट गर्नुहोस् 

यदि तपाईं आफूले युट्युबमा बढी समय बिताउन थालेकोमा चिन्तित हुनुहुन्छ भने यो तपाईंका लागि उपयोगी फिचर हो । यो फिचर प्रयोग गरेर तपाईं आफूलाई युट्युबमा कम समय बिताउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- अनि ‘टाइम वाच्ड’को अप्सनमा जानुहोस् । 

- यति गरेपछि ‘रिमाइन्ड मि टु टेक अ ब्रेक’ (Remind me to take a break) को अप्सन अन गर्नुहोस् । 

- यति भएपछि आफूले कति समय बिताएपछि ब्रेकबारे जानकारी दिने भन्ने समय छान्नुहोस् । सामान्यतः २० देखि ३० मिनेट युट्युबमा भिडिओ हेरिसकेपछि ब्रेक लिनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । 

- टाइम सेट भइसकेपछि डनको बटन ट्याप गर्नुहोस् । 

यति भइसकेपछि तपाईंले सेट गरेको टाइमपछि ब्रेक लिनुस् भनेर युट्युबले तपाईंलाई सम्झाउँछ ।

सहजै जुम गर्न 

युट्यबले हालसालै कुनै पनि भिडिओ आठ गुणासम्म जुम गर्न सकिने फिचर ल्याएको छ । तपाईंलाई कुनै पनि भिडिओ जुम गरेर हेर्नुपरे भने पिन्च (दुई ओटा औंलाले सार्ने) गरेर जुम गर्न सक्नुहुन्छ ।

अटोप्ले इनेबल वा डिसेबल गर्ने तरिका

युट्युबमा कुनै पनि भिडिओ हेरेपछि हाम्रा दुई ओटा मुड हुन्छन् । कतिपय अवस्थामा कुनै भिडिओ सकिसकेपछि अर्को भिडिओ आफैं चलोस् भन्ने लाग्छ भने केही अवस्थामा चलिरहेको भिडिओ सकिसकेपछि कुनै पनि भिडिओ नचलोस् भन्ने लाग्छ ।

त्यसैले यी दुवै अवस्थाका लागि तपाईं अटोप्ले फिचर प्रयोग गर्न सक्नुहुन्छ । 

तपाईं सेटिङबाट वा सोझै हेरिरहेको स्क्रिनबाट अटोप्ले फिचर इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ । हेरिरहेको भिडिओको स्क्रिनबाट यो फिचर इनेबल वा डिसेबल गर्न प्लेपज बटनको सोझै माथि रहेको बटनबाट अटोप्ले फिचर अन वा अफ गर्न सकिन्छ । 

सेटिङबाट यो फिचर इनेबल वा डिसेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- अनि सेटिङ अप्सनमा जानुहोस् । 

- यति गरेपछि अटो प्लेको अप्सनमा गएर सो फिचर इनेबल वा डिसेबल गर्नुहोस् । 

फिडमा स्वतः भिडिओ प्ले हुने 

हामीले फोनमा युट्युब एप खोल्यौं भने केही अवस्थामा भिडिओ आफैं चलिरहेको देखिन्छ । यस्तोमा भिडिओ ट्याप गरेर हेरिरहन पर्दैन । तपाईंले बाहिरबाटै भिडिओमा के भनिएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यो फिचर सबै अवस्थामा उपयुक्त भने हुँदैन । हामीलाई रूचि नलागेका भिडिओ पनि आफैं प्ले भएपछि हामीलाई दिक्क लाग्न सक्छ । तसर्थ तपाईंले यो फिचर इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् । 

- यति गरेपछि सेटिङमा गई 'जेनेरल' अप्सनमा जानुहोस् । 

- र, प्लेब्याक इन फिडको अप्सनमा थिच्नुहोस् । 

- त्यसमा ‘अलवेज अन’ (जतिबेलै प्ले हुने), ‘वाई-फाई वन्ली’ (वाई-फाईमा कनेक्ट भएडको बेला मात्र युट्युब फिडमा भिडिओ चल्ने) र अफ (कतिबेलै पनि नचल्ने) अप्सन रहेका हुन्छन् । त्यसमध्ये आफूलाई उपयुक्त हुने अप्सन छान्नुहोस् । 

युट्युबमा एम्बियन्ट मोड

एम्बियन्टमा मोड यस्तो फिचर हो, जसले युट्युबमा भिडिओ हेर्दा आँखालाई सहज बनाउँछ । सामान्यतः एम्बियन्ट मोड अफ हुँदा युट्युबमा बजिरहेको भिडिओको माथिपट्टि र टाइटल तथा डिस्क्रिप्सन राखिएको बक्समा फोनको मोड अनुसार लाइट वा डार्क कलर रहेको हुन्छ ।

तर, एम्बियन्ट मोड अन गर्ने बित्तिकै भिडिओको तल वा माथिपट्टिको भागबाट डार्क वा लाइट स्क्रिनको भाग हराउँछ । उक्त भागमा भिडिओमा जस्तो कलर छ त्यस्तै ब्लर कलर राखिएको हुन्छ । युट्युबमा एम्बियन्ट मोड अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले युट्युब एप खोली कुनै एउटा भिडिओ प्ले गर्नुहोस् । (भिडिओ फूल स्क्रिनमा राख्दा एम्बियन्ट मोडको प्रभाव देखिँदैन । त्यसैले नर्मल मोडमै राख्नुहोस् ।)

- अनि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा थिच्नुहोस् । 

- त्यसपछि एम्बियन्ट मोडको अप्सन देख्नुहुन्छ । उक्त मोडलाई आवश्यकता अनुसार अन वा अफ गर्न सक्नुहुन्छ । 

युट्युबको इन्कग्निटो मोड 

ब्राउजरमा इन्कग्निटो मोड प्रयोग गर्दा कुनै पनि वेबसाइटले हामीलाई ट्रयाक गर्नबाट जोगाउँछ । तपाईंले युट्युबमा पनि इन्कग्निटो मोड प्रयोग गरेर उक्त प्लेटफर्ममा तपाईंले गरेका गतिविधिलाई ट्रयाक गर्नबाट रोक्न सक्नुहुन्छ ।

त्यसबाहेक पनि केही अवस्थामा हामीलाई आफूलाई रुचि नभएको कुरा पनि युट्यबमा हेर्नुपर्ने हुन्छ । उक्त भिडिओ सकिएपछि हामीलाई त्यस्तै भिडिओको सिफारिस आउँछ । त्यसैले यस्ता कुराबाट जोगिन तपाईंले युट्युबमा इन्कग्निटो मोड प्रयोग गर्न सक्नुहुन्छ । 

इन्कग्निटो मोड प्रयोग गरी युट्युबमा भिडिओ हेर्न तलका प्रक्रिया अपनाउनुहोस्: 

- सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् । 

- अनि ‘टर्न अन इन्कग्निटो’ अप्सनमा थिच्नुहोस् । यति गर्नुभयो भने तपाईंको डिभाइसमा युट्युब इनकग्निटो मोड खुल्छ । 

- उक्त मोड अफ गर्नका लागि पुनः युट्युबको माथि दायाँपट्टि रहेको आइकनमा थिच्नुहोस् । 

‍- अनि ‘टर्न अफ इन्कग्निटो’को अप्सनमा ट्याप गर्नुहोस् । 

भिडिओ छिटो अगाडि वा पछाडि सार्न 

युट्युबमा भिडिओ छिटो अगाडि बा पछाडि सार्न डबल ट्याप फिचर रहेको छ । तर, एकैचोटी भिडिओ आफूले चाहेको टाइमसम्म सार्न तपाईंले युट्युबको अर्को फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

युट्युबले हालै ल्याएको उक्त फिचर प्रयोग गर्न भिडिओ चलिरहेको वा पज भएको बेला केहीबेर ट्याप गरिरहनु होस् । त्यसपछि आफूलाई उपयुक्त लाग्ने ठाउँतिर सार्नुहोस् । 

भिडिओको ट्रान्सक्रिप्ट हेर्न

युट्युबमा केही क्रियटरले भिडिओको ट्रान्क्रिप्ट आफैं राखेका हुन्छन् भने केही भिडिओमा  युट्युबले स्वतः राखिदिएको हुन्छ । ट्रान्सक्रिप्ट भन्नाले कुन समयमा भिडिओमा कुन विषयमा चर्चा गरिएको छ भन्ने बुझाउँछ ।

क्रियटरले राखेको भिडिओमा खासै समस्या हुँदैन । तर, युट्युबले आफै ट्रान्सक्रिप्ट राखिदिएको छ भने त्यो शतप्रतिशत ठीक नहुन सक्छ । त्यसैले सबै भिडिओमा ट्रान्सक्रिप्टमा उपलब्ध छैन । ट्रान्सक्रिप्ट फिचर प्रयोग गर्न तलका प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले ट्रान्सक्रिप्ट भएको भिडिओको टाइटलमा ट्याप गर्नुहोस् ।

- त्यसपछि डिस्क्रिप्सनको बक्समा भएको ….मोर (......more) अप्सनमा थिच्नुहोस् । 

- यति गरेपछि त्यहाँ समय र त्यस समयमा कुन कन्टेन्ट छ भनेर लेखिएको अप्सनहरू देखिन्छ । 

- आफूलाई कुन समयको कन्टेन्ट हेर्न मन छ, त्यही टाइममा ट्याप गर्नुहोस् । यसरी ट्रान्सक्रिप्ट हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १४:५२