close

२४ जीबी र्‍याम र १ टीबी इन्टर्नल स्टोरेज भएको वनप्लस फोन सार्वजनिक

टेकपाना टेकपाना

साउन ३२, २०८० १८:२२

२४ जीबी र्‍याम र १ टीबी इन्टर्नल स्टोरेज भएको वनप्लस फोन सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता वनप्लसले ‘वनप्लस एस टु प्रो’ (Oneplus Ace 2 Pro) सार्वजनिक गरेको छ । २४ जीबी र्‍याम, १५० वाट फास्ट चार्जिङ र स्न्यापड्रागन एट जेन टु चिपसेट भएको यो माेडेल १० हजार स्क्वायर एमएम कुलिङ सिस्टम भएको विश्वकै पहिलो फोन भएकाे कम्पनीले जनाएकाे छ ।

६.७४ इन्च एमोलेड डिस्प्ले भएको फोनमा २७७२*१२४० रेजोलुसनकाे एमाेलेड डिस्प्ले छ । १२० हर्ज रिफ्रेस रेट भएको यो फोनको ब्राइटनेस १६०० निट्ससम्म पुग्ने कम्पनीको दाबी छ । 

यो फोनलाई कम्पनीले गेमिङ फोन भनेको छैन । तर पनि यसमा भएका फिचरहरूलाई हेर्दा यो फोन गेमिङ फोनभन्दा कम छैन ।

फाेनमा ५० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर उपलब्ध छ । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलको सामसङ सेन्सर छ ।

यो मोडेलमा सुपरभाेक एस पावर मेनेजमेन्ट सिस्टम उपलब्ध गराइएको छ । यसको सहायताले स्क्रिन, चार्जिङ स्पिड, फोनको तापक्रम नियन्त्रण हुने कम्पनीको भनाइ छ ।

यो फोन एन्ड्रोइड १३ र कलर ओएस ३.१ बाट सञ्चालित छ । अरोरा ग्रिन र टाइटानियम ग्रे कलरमा यो फोन चिनियाँ बजारमा अगस्ट २३ देखि  उपलब्ध हुने जीएसएम एरेनाले जनाएकाे छ ।

१२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य कम्पनीले २,९९९ चिनियाँ युआन (करिब ५५ हजार रुपैयाँ), १६ जीबी र्‍याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ३३९९ चिनियाँ युआन (करिब साढे ६१ हजार रुपैयाँ) र २४ जीबी र्‍याम तथा १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ३९९९ चिनियाँ युआन (करिब ७५ हजार रुपैयाँ) तोकिएको छ ।

कम्पनीले नेपाली बजारमा याे फाेन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने जानकारी दिएको छैन ।

 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १२:४८