काठमाडौं । सहकारी संस्थालाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीतिक साझेदारी भएको छ ।
सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरे ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनुका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले आफूलाई खुसी लागेको बताए ।
यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बाले यो साझेदारले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाइजेसन एवं कोप भिजन २०३० लाई समेत सेवा पुर्याउने बताइन् ।
त्यस्तै इन्फाेडेभलपर्सका कार्यकारी निर्देशक प्रविन सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक सुरेश थापा, काभ्रे जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सूचना अधिकृत रामसुदन तिमिल्सिना, इन्फोडेभलपर्सका सेल्स प्रमुख अनिश कुमार झा र बजार प्रमुख रेशम भण्डारीको समेत उपस्थिति थियो ।