काठमाडौं । विद्यार्थीलाई कोडिङ सिकाउने मेरो कोडिङ क्लासले दुई दिने वर्कशप आयोजना गर्ने भएको छ । बालबालिकालाई कोडिङतर्फ आकर्षक बनाउने उद्देश्यले आगामी भदाै १६ र १७ गते यो वर्कशप आयोजना हुने लागेको हो ।
निःशुल्क अनलाइनबाट सञ्जाल हुने यो वर्कशपमा आठदेखि १८ वर्षसम्मका बालबालिका सहभागी हुन सक्नेछन् । टेकपानासँग कुरा गर्दै मेरो कोडिङ क्लासका सीईओ वसन्त पन्तले भने, “बालबालिकालाई प्रोग्रामिङबारे सचेत गराउने उद्देश्यले वर्कशप गर्न लागेका छौं । यसमा हरेक क्षेत्रका विद्यार्थी सहभागी हुन पाउनेछन् ।”
पन्तका अनुसार वर्कशपमा सहभागी आठदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई स्क्र्याच सम्बन्धी कोर्स सिकाइनेछ । त्यस्तै १३ देखि १८ वर्ष उमेर समूहका बालालिकाले भने पाइथन सिक्न पाउनेछन् ।
वर्कशपमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि यहाँ क्लिक गरेर 'बुक नाउ'को बटनमा क्लिक गरी आवेदन दिन सकिन्छ । त्यसका लागि बालबालिकासँग कम्प्युटर, ट्याबलेट हुनु आवश्यक छ भने उनीहरू इन्टरनेटको पहुँचमा हुनुपर्नेछ ।
“वर्कशपमा सहभागी विद्यार्थीले दुई दिनसम्म प्रोग्रामिङ सिकेको भनेर हामी ई-सर्टिफिकेट पनि उपलब्ध गराउनेछौं,” पन्तले भने ।