काठमाडौं । एसिया कप २०२३ को उद्घाटन खेलमा बुधबार आयोजक पाकिस्तानसँग सामना गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई भिडिओ कल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हौसला दिएका छन् । क्रिकेट टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले खेलको सफलताका लागि शुभकामना दिएका हुन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमा राखेको एक भिडिओमा प्रधानमन्त्रीले नेपाली टिमका कप्तान राेहित पाैडेलसँग कुराकानी गरेको देखिन्छ ।
साे अवसरमा प्रधानमन्त्रीले भनेका छन्, ''सिंगै नेपाल सरकार, नेपाली जनता तपाईँहरूसँग साथमा छन् । पहिलो पटक एसियन कप खेल्दै हुनुहुन्छ, यो ऐतिहासिक अवसर पनि हो । मेरो तर्फबाट बेस्ट अफ लक । राम्रो गर्नुस् । देश तपाईँको साथमा छ ।''
गत भदौ ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान-३ मिसनमा संलग्न वैज्ञानिकहरूलाई दक्षिण अफ्रिकाबाट भिडिओ कन्फ्रेन्समार्फत हौसला दिएका थिए । देशले नयाँ कीर्तिमान राख्दा प्रधानमन्त्री मोदीले देखाएको सक्रियताले प्रशंसा बटुलिरहँदा नेपालका प्रधानमन्त्रीले पनि क्रिकेट टोलीलाई खेल हुनुअघि भर्चुअल कल गरी शुभकामना दिएका हुन् ।