close

फेसबुक पोस्टले मेयर बालेन विवादमा, सचिवालय भन्छः गृह प्रशासनले सुनियोजित भ्रम फैलायो

टेकपाना टेकपाना

भदौ १७, २०८० २२:६

फेसबुक पोस्टले मेयर बालेन विवादमा, सचिवालय भन्छः गृह प्रशासनले सुनियोजित भ्रम फैलायो

 

काठमाडौं । काठमाडौें महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले फेसबुक पोस्टमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सञ्जाल तातेको छ । शनिवार राति ९ः२१ मा शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट राखेको स्टाटसका कारण सामाजिक सञ्जाल गर्माएको हो । 

“आजको लागी केही भएन ,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु,” शाहले धम्की दिंदै फेसबुक पेजमा लेखेका थिए, “याद राख चोर सरकार ।”

यो स्टाटस आएपछि सामाजिक सञ्जालमा थुप्रै किसिमका मिश्रित प्रतिक्रिया आएका छन् । त्यसबारे विभिन्न सञ्चार माध्यममा फरक फरक समाचारहरू पनि आए । 

सञ्चार माध्यमहरूमा आएका समाचारको विषयलाई स्पष्ट पार्दै बालेनको सचिवालयले भ्रम फैलाइएको बताएको छ । सचिवालयले आइतवार महानगरपालिकाको फेसबुक पेजमा विज्ञप्ति राख्दै विभिन्न सञ्चार माध्यमले भ्रम फैलाएको जनाएको हो । 

“विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सविना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा लेखिएको छ, “२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सविना काफ्ले अस्पताल जानुभएको थियो ।”

विज्ञप्तिमा अगाडि लेखिएको छ, “आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयू (NICU) मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए ।”

सचिवालयका अनुसार सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको, तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाए पछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको समेत सचिवालयको आरोप छ । 

विज्ञप्तिमा अगाडि लेखिएको छ, “सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।”

प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक भएको सचिवालयको तर्क छ । 

"यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चार माध्यमहरूलाई भ्रामक सूचना दि समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं," सचिवालयले भनेको छ । 

सामाजिक सञ्जालमा बालेनले फेसबुकमार्फत पोखेको आक्रोशलाई कतिपयले जायज भनेका छन् भने केहीले सन्की, मादक पदार्थको नसाको झोंकमा लेखेको, अराजक र गैर जिम्मेवार बनेको आरोप समेत लगाएका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० २२:९