काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणाली सञ्चालनमा ल्याइएको छ । विद्युतीय प्रशासनलाई प्राथमिकता दिँदै छिटो, छरितो र प्रभावकारी रूपमा कार्यालयका काम सम्पन्न गर्न स्वचालित प्रणालीको सुरुवात गरिएको विश्वविद्यालयले जनाएको छ ।
सोमबार त्रिवि रजिस्ट्रार कार्यालयमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सो सेवाको औपचारिक उद्घाटन गरे । यससँगै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् ।
त्रिवि केन्द्रीय कार्यालयमा गत साउन १ गतेबाट नै यो प्रणाली कार्यान्वयनमा आएको थियो । उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकाय संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आईडी कार्यान्वयनमा रहेको विश्वविद्यालयले जनाएको छ ।