close

दराजबाट अब पुराना वा प्रयोग भइसकेका फोन सस्तो मूल्यमा किन्न सकिने, किस्ताबन्दीको समेत सुविधा

टेकपाना टेकपाना

भदौ २०, २०८० १७:४७

दराजबाट अब पुराना वा प्रयोग भइसकेका फोन सस्तो मूल्यमा किन्न सकिने, किस्ताबन्दीको समेत सुविधा

काठमाडौं । अब रिफर्बिस्ड अर्थात् प्रयाेग भइसकेका तर मर्मत गरी नयाँ जस्तै बनाइएका फाेन दराजबाट किन्न सकिने भएको छ । दराजले नयाँ सेग्मेन्ट 'दराज लाइक न्यू' (डीएलएन) थप्दै प्रयोग भएका फोनहरू बिक्री गर्न सकिने प्लेटफर्म उपलब्ध गराएको हो ।

यसमा पहिलो सेवा नेपाली स्टार्टअप 'सबको फोन'ले दिने भएको छ । यसका लागि दराज र सबकाे फाेनबीच मंगलबार एक साझेदारी भएकाे छ । सबकाे फाेनले विगत चार वर्षदेखि पुराना तथा बिग्रेका फोनहरू ग्राहकबाट किनी, मर्मत गरेर सस्तो मूल्यमा आफ्नो स्टोरमार्फत बिक्री गर्दै आएको थियो ।

दराज प्लेटफर्ममा जोडिएसँगै अब देशैभर सबको फोनबाट रिफर्बिस्ड भएका फोनहरू डेलिभरी हुने भएको छ । साथै फोनमा समस्या आए दराजकै डेलिभरी च्यानलमार्फत सबको फोन कम्पनीमा मर्मतका लागि पठाउन सकिने सबकाे फाेनका संस्थापक उत्तम काफ्लेले जानकारी दिए ।

“पहिले देशका विभिन्न ठाउँका व्यक्तिहरूले हाम्रो सामान किन्न खोज्नुहुन्थ्यो । तर हाम्रो डेलिभरी प्रणाली नहुँदा समस्या थियो । अब दराजमा आएपछि उहाँहरूले सोझै त्यहाँबाट किन्न सक्नुहुनेछ । अब हाम्रो सामान १०८ भन्दा बढी सहरमा डेलिभरी हुन्छ,” उनले टेकपानासँग कुरा गर्दै भने, “दराजसँगको सहकार्यले हाम्रो सेवा विस्तार हुने र ग्राहकलाई सहज हुने विश्वास छ ।”

हाल एप्पल, सामसङ, वनप्लस लगायतका रिफर्बिस्ड फोनहरू ग्राहकले दराजबाट किन्नसक्ने छन् । त्यस्तै फोन किन्नेहरूले मासिक किस्ता (ईएमआई)को सेवा समेत पाउने काफ्लेले जनाए । त्यस्तै क्रेडिट कार्डबाट समेत रकम भुक्तानी गर्ने व्यवस्था छ ।

आफूहरूले बिक्री गर्नु अगाडि विभिन्न परीक्षण गरेपछि मात्र फोनहरू बेच्ने भएकाले ग्राहक ढुक्क हुनसक्ने उनकाे भनाइ छ । हाल कम्पनीले ४५ हजार रुपैयाँभन्दा मुनिका फोनहरूमा तीन महिना र सोभन्दा माथिका फोनहरूमा छ महिनाको वारेन्टी समेत दिँदै आएको छ । 

सबको फोनको स्टोरबाट सबै प्रकारका फोन किन्न सकिने भएपनि दराजमा भने प्रिमियम फिचर भएका फोनमात्रै राखिएको उनले बताए ।

त्यस्तै दराजले यस सेग्मेन्ट मार्फत पुराना, तर मर्मत गरेका फोनहरू बिक्री गर्ने अन्य विक्रेताहरूलाई पनि अवसर दिने बताएको छ । दराजका फोन र ट्याब्लेट क्याटेगोरीका व्यवस्थापक भविन्द्र प्रसाद ढकालका अनुसार बिल दिन सक्ने, फोनको गुणस्तर कायम गर्न सक्ने विक्रेताहरू डीएलएनमा जोडिने सक्नेछन् ।

त्यस्तै भविष्यमा अन्य डिजिटल डिभाइसहरू पनि बिक्रीका लागि राख्ने याेजना रहेकाे उनले सुनाए । हाल ग्राहकले यहाँ क्लिक गरी रिफर्बिस्ड फोनहरू खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १२:४