close

ज्योतिषी तथा पूजापाठ सम्बन्धी अनलाइन सेवा दिने नेपाली प्लेटफर्म

टेकपाना टेकपाना

भदौ २०, २०८० १९:४६

ज्योतिषी तथा पूजापाठ सम्बन्धी अनलाइन सेवा दिने नेपाली प्लेटफर्म

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा नेपाली ज्योतिषी प्लेटफर्म ‘ज्याेतिष विज्ञान’ सार्वजनिक भएको छ । ह्युमन ट्रि प्रालिले बुधवार याे अनलाइन प्लेटफर्म अन्तर्गत वेबसाइट सार्वजनिक गरेको हो । ज्याेतिष विज्ञानमा रुचि राख्ने र त्यस क्षेत्रमा आवद्ध विज्ञ ज्योतिषलाई एउटै प्लेटफर्ममा ल्याउन यो प्लेटफर्म विकास गरिएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे व्यवस्थापन सदस्य पण्डित अनुराग न्यौपानेले ​टेकपानासँग कुरा गर्दै उनले भने, “आज विशेष दिन भएकाले बेटा भर्सनमै भए पनि प्लेटफर्म सार्वजनिक गरेका छौं । हाललाई यो प्लेटफर्ममा पाँच जना ज्योतिष आवद्ध हुनुहुन्छ । सेवाग्राहीले अडियो, भिडिओ कल वा मेसेज गरेर विभिन्न ज्योतिषसँग परामर्श लिन सक्नुहुन्छ ।” यो प्लेटफर्ममा ज्योतिष र ब्राम्हण (गुरु) आवद्ध हुन्छन् ।

ज्योतिषले नाम विश्लेषण गर्ने, कुण्डली दशा हेर्ने, मंगल दशा हेर्ने, रोजगारी, शिक्षा, स्वास्थ्य, विवाह आदि विश्लेषण गर्छन् । यी कार्यका लागि ब्राह्मण वा पण्डित आवश्यक पर्ने ज्योतिषले नै सुझाव दिनेछन् ।

पं. न्यौपानेका अनुसार यो प्लेटफर्ममा ज्योतिष वा पण्डितका रूपमा आवद्ध हुन शास्त्री वा आचार्य पूरा गरेको हुनुपर्छ । त्यस्तै राम्रो सेवा दिने ज्योतिष तथा पण्डित रेटिङका आधारमा र्याङ्कमा पर्नेछन् । यसको अर्थ जुन ज्योतिषले राम्रो सेवा दिन्छन्, उनीहरूको नाम शीर्ष स्थानमा देखिन्छ ।

सेवाग्राहीले पनि उनीहरूले पाएको रेटिङको आधारमा आफूलाई उपयुक्त लागेको ज्योतिष वा पण्डित छनोट गर्न सक्छन् । त्यसबाहेक पनि यो प्लेटफर्मबाट ज्योतिषले तयार पारेको दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल हेर्न सकिन्छ । हाल ज्योतिषी तथा पूजापाठ सम्बन्धी सेवा दिए पनि आगामी दिनमा पूजासँग सम्बन्धित सामग्री उपलब्ध गराउने कम्पनीको योजना छ ।

अहिले वेबसाइटका रूपमा मात्र सार्वजनिक भएको यो प्लेटफर्म छिट्टै नै एन्ड्रोइड तथा आईओएस एपका रूपमा उपलब्ध गराउने उनले सुनाए । यो प्लेटफर्मलाई नेपाल बाहेक भारत, पाकिस्तान लगायतका विस्तार गर्ने कम्पनीको योजना छ ।

ज्योतिष विज्ञान एस्टर गुरु डोमेन मार्फत यो प्लेटफर्म प्रयोग गर्न सकिन्छ । यदि तपाईं यो प्लेटफर्म प्रयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर वेबसाइटमा प्रवेश गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० १९:४६