close

टेलिकम र एनसेलले फाइभजी सुरु गरे हाम्रा स्मार्टफोनमा तत्कालै सेवा एक्टिभ गर्छौंः सामसङ

टेकपाना टेकपाना

भदौ २२, २०८० १६:३७

टेलिकम र एनसेलले फाइभजी सुरु गरे हाम्रा स्मार्टफोनमा तत्कालै सेवा एक्टिभ गर्छौंः सामसङ

काठमाडौं । दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसङले नेपाली प्रयोगकर्ताका लागि फाइभजी सेवा दिन आफू तयार रहेको उद्घोष गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यसको जानकारी गराएको हो ।

विश्वभर चिरपरिचित रहेको सामसङ नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्रान्ड हो । नेपालमा नवीनतम प्रविधि भित्र्याउन अग्रसर रहँदै आएको यो कम्पनीले फाइभजीका लागि आफू तयार रहेको जनाएको हो ।   

नेपालमा बजेटदेखि प्रिमियम मूल्यसम्मका थुप्रै सामसङ स्मार्टफोन फाइभजीका लागि तयार रहेको उल्लेख छ । नेपाल टेलिकम र एनसेलले विभिन्न ब्यान्डका फ्रिक्वेन्सीमा रहेर देशभर मोबाइल सेवा उपलब्ध गराउँदै आइरहेका छन् । प्रयोगमा रहेका मुख्य सबैजसो ब्यान्डहरू टुजीका लागि ब्यान्ड ८  (९०० मेगाहर्ज), थ्रीजीका लागि ब्यान्ड १ (२१०० मेगाहर्ज), फोरजीका लागि ब्यान्ड ३ (१८०० मेगाहर्ज) मा आफ्ना फोनहरूले सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले फोरजी तथा एलटीई अन्तर्गत भीओएलटीई विस्तारका क्रममा अर्को ब्यान्ड, ब्यान्ड २० (८०० मेगाहर्ज) समेत प्रयोगमा ल्याएको थियो । सामसङले सो ब्यान्डमा आधारित फोरजी सेवा समेत आफ्ना डिभाइसमा सन् २०२० देखि उपलब्ध गराएको उल्लेख गरेको छ ।

आफूलाई ब्यान्ड २० सपोर्ट गर्ने मामिलामा नेपालकै पहिलो ब्रान्ड भएको दाबी गर्ने सामसङले नेपाल टेलिकम र एनसेलका निम्न ब्यान्डहरूमा आफ्ना डिभाइसले सपोर्ट गर्ने जनाएको छ ।

नेटवर्क

एनसेल

नमस्ते

2G

Band 8 (900 MHz)

Band 8 (900 MHz)

3G

Band 1 (2100 MHz)

Band 1 (2100 MHz)

4G

Band 3 (1800MHz)

Band 3 (1800 MHz)

4G

 

Band 20 (800 MHz)

नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण सुरु गरिसकेको छ भने एनसेल त्यसका लागि सरकारबाट अनुमति पाउने पर्खाईमा छ । सेवा प्रदायकले फाइभजी सेवा सुरु गर्ने बित्तिकै नेपालमा रहेका आफ्ना प्रयोगकर्ताले फाइभजी सेवामा तीव्र इन्टरनेट स्पिडको आनन्द लिनसक्ने सामसङले जनाएको छ ।

"सामसङ नेपाली प्रयोगकर्ता माझ भविष्यका लागि तम्तयार फाइभजी प्रविधि उपलब्ध गराउन प्रयासरत छ," कम्पनीले भनेको छ । सामसङले विभिन्न मूल्यका फाइभजी स्मार्टफोनहरू सन् २०२१ देखि नै बजारमा उपलब्ध गराउन थालेको हो । साथै देशमा फाइभजी प्रविधि ल्याउन नियमित रूपमा नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेको कुरा समेत सामसङले उल्लेख गरेको छ ।

सामसङले हालै मात्र आफ्नो निकै सस्तो फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी एम १४ फाइभजी सार्वजनिक गरेको थियो । फाइभजीका लागि पूर्ण रूपमा तयार डिभाइसहरू सार्वजनिक गर्न तयार रहेको जनाउँदै सामसङले आफ्ना डिभाइसहरूमा फाइभजी सेवा सक्रिय तुल्याउन नेटवर्क सेवा प्रदायकले उक्त सेवा सार्वजनिक गर्ने दिनको पर्खाईमा रहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १६:४६