काठमाडौं । अमेरिकामा राष्ट्रपतिकाे चुनावी तयार हुन थालेसँगै गुगलले एआई प्रयोग गरी तयार पारिने विज्ञापनमा कडाइ गर्ने भएको छ । आउँदो मध्ये नोभेम्बरदेखि सक्रिय हुने यो नियम गुगलले अमेरिकी राष्ट्रपति चुनाव हुन ठीक वर्षअघि ल्याएको हो ।
गुगलले यसका लागि विज्ञापनको नयाँ नीति ल्याएको छ । जसअनुसार सिन्थेटिक (एआई प्रयोग तयार पारिएका वा परिवर्तन गरिएका) वा कृत्रिम रूपमा परिवर्तन गरिएका व्यक्तिहरू, आवाजहरू वा अन्य घटना प्रयोग गरिएको विज्ञापन देखाउँदा त्यसमा नै सो कुरा उल्लेख गर्नुपर्ने छ ।
युट्युब र अन्य गुगल प्लेटफर्महरूमा गरिएका त्यस्ता चुनावी विज्ञापनहरूले मानिसहरूलाई भ्रम सिर्जना गर्नसक्ने बताउँदै गुगलले आफ्नो नीति परिवर्तन गरेको हो ।
सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि यस्तो नीति ल्याएपनि भविष्यमा भारत, दक्षिण अफ्रिका, युरोपेली संघ र अन्य देशहरूमा हुने चुनावमा समेत यही नीति लागू गर्ने गुगलले जनाएको छ । यसका लागि विज्ञापनदाताहरूको प्रमाणीकरण गर्ने प्रक्रिया चलिरहेको गुगलको भनाइ छ ।
पछिल्लो समयमा राजनीतिक विज्ञापनका लागि नक्कली फोटो/भिडिओ वा अडियो क्लिपहरू बाहेक जेनेरेटिभ एआई प्रयोग गरी तयार पारिएका सामग्रीहरू समेत प्रयोग हुन थालेका छन् । गुगलको यो नयाँ कदमले त्यस्ता गतिविधि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।