close

काठमाडौंका वडा सदस्यले जबरजस्ती तार काटिदिएपछि इन्टरनेट सेवा अवरुद्ध

टेकपाना टेकपाना

भदौ २६, २०८० १९:२५

काठमाडौंका वडा सदस्यले जबरजस्ती तार काटिदिएपछि इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले आफूखुसी इन्टरनेटको तार काटिदिँदा एयरपोर्ट सेग्मेन्टदेखि पुरानो बानेश्वर क्षेत्रसम्म इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुवास खड्काका अनुसार मंगलवार दिउँसो वडा सदस्य राईले बिना कुनै जानकारी तार काटिदिँदा सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । 

“हामी अहिले इन्टरनेटको तार काटिएको विषयमा छलफल गर्दैछौं,” खड्काले टेकपानासँग भने, “तार काटिँदा एयरपोर्ट सेगमेन्टदेखि सिनामंगल हुँदै पुरानो बानेश्वरसम्म इन्टरनेट अवरुद्ध भएको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोडलिङ्क फाइबर नेटवर्कका असिस्टेन्ट मेनेजर यादव तिमल्सिनाले राईले मंगलवार कसैलाई जानकारी नदिएरै आफूखुसी तार काटेको पुष्टि गरे ।  

भाद्र २४ गते महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच प्रभावकारी रूपमा तार व्यवस्थापन गर्ने निर्णय भएको थियो । तर, त्यसपछि लगातार पानी परेकाले तार व्यवस्थापनको काम अघि बढ्न सकेको थिएन । “हामी निरन्तर तार व्यवस्थापनको काम गरिरहेका थियौं,” तिमल्सिनाले भने, “समय समयमा पानीका कारण बाहिर फिल्डमा काम गर्न सकिएन । त्यस विषयमा हामीले महानगरपालिकालाई जानकारी गराएर सहकार्य गरेर काम् गर्दै आएका थियौं । महानगरपालिकाबाट पानी परेको बेला रिक्स लिएर काम नगर्नुस् भन्नु भएको थियो ।”

तर, मंगलवार दिउँसो वडा सदस्यले कसैलाई पनि जानकारी नगराई आफ्नै मनोमानी पोलमा रहेका महत्त्वपूर्ण तार हटाएको उनले बताए ।

त्योभन्दा पहिले पनि राईले काठमाडौंका विभिन्न तीन ठाउँमा तार काटिदिएका थिए । तिमल्सिनाका अनुसार राईले अनावश्यक रूपमा विभिन्न स्थानका तार काट्न थालेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापनको काम स्थगित गरेका थिए । तर २४ गतेको बैठकपछि दुवै पक्षबीच तार व्यवस्थापन गर्ने सहमति भएको थियो । 

त्यस लगत्तै पानी पर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापनको काम अगाडि बढाउन सकेनन् । काम नभएको देखेपछि राईले आफूखुसी तार हटाएका छन् । “उनीहरू जथाभावी तार राख्ने, नहटाउने, जे पायो त्यही गर्न थाल्ने अवस्था छ,” यति भन्दै महत्त्वपूर्ण ठाउँमा जानुपर्ने भनेर राई अगाडि बोल्न चाहेनन् । बाँकी कुरा बुधवार भन्ने उनले बताए । 

तार काट्ने काम वडा सदस्यको क्षेत्राधिकार पर्ने वा नपर्ने विषयमा आफू अनभिज्ञ भए पनि कसैलाई जानकारी नदिएर जबरजस्ती तार काटिदिनु गलत भएको तिमल्सिनाको बुझाइ छ । उनी अगाडि भन्छन्, “कुनै सूचना दिएको वा जानकारी गराएको त्यसो गरेको भए उहाँको क्षेत्राधिकारभित्र पर्छ भन्ने मानिन्थ्यो होला । तर, यहाँ त न मौखिक, न लिखित कुनै पनि जानकारी नै छैन । यत्तिकै हावा तालमा उहाँले आफ्नो हिसाबले म यस्तो गर्दैछु, म जनताको काम गर्छु भन्नुहुन्छ ।”

महानगरले आह्वान गरेका तार व्यवस्थापनका कुनै पनि बैठकमा सहभागी नहुने, अनि आफ्नो हिसाबले कहिले कुन टोलमा, कहिले कुन गल्लीमा, कहिले कुन चोकमा तार काटिदिनाले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ठूलो क्षति भएको उनले बताए । 

“उहाँले तार काट्नुअघि कुनै पनि कम्पनीलाई जानकारी दिएको भए हाम्रो कमीकमजोरी हो भन्ने महसुस हुन्थ्यो,” उनले अगाडि भने, “तर उहाँले कसैलाई पनि नटेरेर तार काटिदिनु भयो ।”

आफू त्यहाँ पुग्दा वडा सदस्यको नेतृत्वमा तारहरू जथाभावी काटने भइरहेको र अन्तिममा केही मात्र तार बाँकी रहेपछि राईले तार काट्ने कर्मचारीलाई ओरालेको तिमल्सिनाले सुनाए । 

“तिमीहरूको तार एउटा मात्र हुनुपर्छ । यत्रो तार किन राखेको भन्नुहुन्छ,” उनले भने, “तिमीहरू कति ओटा कम्पनी दर्ता छौ भनेर पनि सोध्नु भयो । त्यो दूरसञ्चार कार्यालयमा गएर बुझ्नुपर्छ भन्दा त्यो मेरो काम होइन भोलि वडा कार्यालयमा आउने । फर्मलाई वडामा रजिस्टर गर्ने, अनि बल्ल काम गर्ने भन्नुभयो ।”

वडा सदस्य राईले तार काट्न लागेको थाहा पाएपछि तिमल्सिनाले महानगरपालिकाका नगरप्रहरीलाई सम्पर्क गरेका थिए । केही समयपछि नगरप्रहरी सो स्थानमा गए । तर उनीहरूले राईलाई सम्झाउन नसकेर फर्किएको तिमल्सिनाले जानकारी दिए ।

यसरी अनावश्यक रूपमा तार काटिदिँदा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नयाँ तार राख्न बाध्य हुनुपरेको उनको भनाइ छ । “त्यहाँ कैयौं पुराना तार थिए । कतिपय टेलिफोनका, केही केबल टिभीका केही लोडसेडिङ हुने बेला राखिएका जेनेरेटरका तार पनि थिए,” उनले भने, “ती अनावश्यक तारसँगै हाम्रीले राखेका महत्त्वपूर्ण तार पनि हटाउनु भएको छ ।”

यस्तो हुँदा उपभोक्ता र इन्टरनेट सेवा प्रदायक पनि मारमा परेको तिमल्सिनाको ठम्याई छ । विशेषगरी नयाँ तार राख्दा तारको शुल्क, जनशक्तिको शुल्क अतिरिक्त लाग्ने उनले बताए । यसरी वडा सदस्यले अनावश्यक दुःख दिन थालेकाले भोलिबाट तार व्यवस्थापनको काम गर्ने वा नगर्ने अन्योलता सिर्जना गरेको उनले सुनाए । 

 

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १९:२५