close

नेपालमै ग्रीन हाइड्रोजनमा आधारित युरिया मल कारखाना खोल्न समझदारी, प्रारम्भिक लागत २६ अर्ब

टेकपाना टेकपाना

बैशाख २०, २०८२ १९:४

नेपालमै ग्रीन हाइड्रोजनमा आधारित युरिया मल कारखाना खोल्न समझदारी, प्रारम्भिक लागत २६ अर्ब

काठमाडौँ । ग्रीन हाइड्रोजनमा​ आधारित युरिया मल कारखाना स्थापना गर्ने महत्त्वाकांक्षी परियोजनाले मूर्त रूप लिने संकेत देखिएको छ । कोशी प्रदेश सरकारको लगानी बोर्ड र ग्रीन हाइड्रोजन कम्पनी प्राइभेट लिमिटेडबिच शुक्रबार एक समारोहमा कारखानाको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) लगायतका आवश्यक प्रक्रिया अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ग्रीन हाइड्रोजन कम्पनीले आगामी तीन वर्षभित्र कारखाना स्थापनाका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन र लगानी व्यवस्थापनको खाका तयार पार्नेछ ।

समझदारी पत्रमा कोशी प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइराला र ग्रीन हाइड्रोजन कम्पनी प्रालिका प्रबन्ध निर्देशक गालब बहादुर ढुंगानाले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयले यस परियोजनाका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रारम्भिक लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजना अनुसार सुनसरी–उदयपुर सिमाना क्षेत्रमा कारखाना स्थापना गर्ने योजना रहेको छ । विशेषतः अहिले सञ्चालनविहीन अवस्थामा पुगेको उदयपुर सिमेन्ट कारखानालाई पुनःसञ्चालनमा ल्याई त्यहाँबाट निस्कने कार्बनडाइअक्साइडलाई मल उत्पादनमा प्रयोग गरिने प्रारम्भिक सोच बनाइएको काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापाले जानकारी दिए ।

विश्वविद्यालयले सुरु गरेको कार्यक्रम निजी क्षेत्र र सरकारी निकायको बिचमा समझदारी भएर अगाडि बढ्नु सुखद कुरा भएको उनको भनाइ छ । उनका अनुसार सरकारी नेतृत्वमा स्थापना हुने कारखानाको व्यवस्थापन तथा प्रारम्भिक लगानी जुटाउने काम निजी क्षेत्रले गर्नेछ । "पब्लिक–प्राइभेट पार्टनरशिपकै मोडेलमा परियोजना अगाडि बढ्ने र सरकारकै स्वामित्वमा रही पछिसम्म निजी क्षेत्रसँग साझेदारी हुने किसिमले सम्झौता भएको हो," उनले भने ।

यो मल कारखानाले वार्षिक दुई लाख मेट्रिक टन युरिया मल उत्पादन गर्ने अनुमान गरिएको उनले जनाए । "यो मल कारखाना बन्यो भने नेपालमै प्रति वर्ष दुई लाख मेट्रिक टन मल उत्पादन हुनेछ । उदयपुर सिमेन्ट कारखाना फेरि सञ्चालनमा आउने र त्यस कारखानाबाट निस्किएको धुवाँको, फोहोरको अथवा प्रदूषणको पनि व्यवस्थापन हुने हुँदा यो परियोजना सान्दर्भिक पनि देखिन्छ," डा. थापाले भने ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १९:३९