close

संस्थागत जानकारी प्रदान गर्न उपयोगी टेलिकमको ‘कर्पोरेट सीआरबीटी’ सेवा, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

भदौ २९, २०८० १६:२७

संस्थागत जानकारी प्रदान गर्न उपयोगी टेलिकमको ‘कर्पोरेट सीआरबीटी’ सेवा, कसरी गर्ने प्रयोग ?

 

काठमाडाैं । नेपाल टेलिकमले संस्थागत ग्राहकलाई कर्पोरेट सीआरबीटी (कलर रिङ ब्याक टाेन) सेवा उपलब्ध गराइरहेको छ । यो सेवामार्फत कुनै पनि कर्पोरेट ग्राहकले आफ्नो संस्थाको बारेमा आवश्यक जानकारीमूलक सामग्रीलाई रिङब्याक टोनको रुपमा प्रयोग गर्न सक्छन् ।

टेलिकमका अनुसार यो सेवा कम्तिमा ६ महिनाको लागि लिनुपर्ने हुन्छ । संस्थागत ग्राहकले सीआरबीटी सेवा सञ्चालन गर्न सुरुमा एक पटक (वन टाइम एक्टिभेसन) शुल्क बुझाउनु पर्छ । सो सेवा बीचमा हटाई पुनः लिन चाहेमा रिकनेक्ट बापत फेरि एक्टिभेसन शुल्क बराबरकै शुल्क लाग्छ । याे एक्टिभेसन शुल्क सम्बन्धित संस्थाले नै ब्यहाेर्नु पर्छ ।

कुनै पनि संस्थामा कार्यरत कर्मचारीको मोबाइलमा रिङ ब्याक टोन बजाउन सकिने भएकाले कर्मचारीको मोबाइल नम्बर संख्याको आधारमा एक्टिभेसन शुल्क बुझाउन सकिने व्यवस्था गरिएकाे छ । कमसेकम २५ देखि १०० जनासम्म संख्या भएमा पाँच हजार र त्यही अनुसार शुल्क तोकिएको छ ।

यो सेवा लिन मासिक सब्सक्रिप्सन शुल्क २५ रुपैयाँ (कर बाहेक) र संस्थाले अनुरोध गरेको टोन वापत मासिक शुल्क १५ रुपैयाँ (कर बाहेक) बुझाउनु पर्ने हुन्छ । टेलिकमका अनुसार सब्सक्रिप्सन र टाेन बापतको मासिक शुल्क एकमुष्ट बुझाउनु पर्ने हुन्छ ।

यदि संस्थाले मासिक शुल्क नव्यहोरेको खण्डमा संस्थाका कर्मचारी स्वयंले सब्सक्रिप्सन र टाेन बापतको शुल्क कर्मचारीको मोबाइल ब्यालेन्सबाट कट्टा गर्ने गरी दुवै सेवा उपलब्ध गराउन नेपाल टेलिकम समक्ष कर्पाेरेट सीआरबीटीको लागि लिखित अनुरोध गर्नु पर्नेछ ।

कर्पाेरेट  सीआरबीटी सेवाको लागि संस्थाहरूले कम्तिमा २५ कर्मचारीको नाम सहित मोबाइल नम्बर राखी लिखित अनुरोध गर्नुपर्नेछ । सो भन्दा कम संख्या भएका संस्थाहरूले समेत यो सेवा लिन चाहेमा सेवा उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । यसअनुसार ​कम्तिमा २५ जना कर्मचारी बराबरको एक्टिभेसन शुल्क संस्था आफैंले व्यहोर्न तयार भएमा सेवा उपलब्ध गराइने छ ।

साथै २५ जनाको लागि अपुग भए जति संख्या बराबरको सब्सक्रिप्सन र टाेन बापतको मासिक शुल्क संस्थाले नै व्यहोर्न तयार भएमा सेवा उपलब्ध गराइनेछ । साथै कर्मचारीले संस्था छोडेर गए संस्थाले नै पछि व्यहोर्नु पर्नेछ ।

संस्थाहरूले कर्पाेरेट सीआरबीटी सेवा लिन कर्मचारीको नाम, मोबाइल नम्बर, बझ्नुपर्ने कलर रिङ ब्याक टाेन तथा चार्जिङ माेड स्पष्ट पारी गरी लिखित अनुरोध गर्नु पर्नेछ ।

संस्थाले आवश्यक सम्पूर्ण शुल्क नेपाल टेलिकमले तोकेको बैंक (नेपाल इन्भेस्टमेन्ट बैंक, दरबारमार्ग, अकाउन्ट नम्बर : ००१०१०१००६८२९१ मा जम्मा गर्नु पर्नेछ । अन्तिममा कम्पनीले सम्बन्धित संस्थालाई सेवा उपलब्ध गराएको जानकारी संस्थाले उपलब्ध गराएको इमेल मार्फत दिनेछ ।

कुनै कर्मचारीका लागि कर्पोरेट सीआरबीटी सेवा उपलब्ध गराइएको सम्बन्धमा कतैबाट गुनासो आएमा सम्बन्धित संस्था नै जिम्मेवार हुने टेलिकमकाे भनाइ छ । सब्सक्रिप्सन र टाेन बापतको मासिक शुल्कमा दूरसञ्चार सेवा शुल्क (टीएससी) र भ्याट दुवै लाग्नेछ भने एक्टिभेसन शुल्कमा भ्याट मात्र लाग्छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १६:२७