close

सुध्रिएन त्रिविको डिजाइन

टेकपाना टेकपाना

असोज ६, २०८० १४:३५

सुध्रिएन त्रिविको डिजाइन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आफ्नो भर्ना कार्यक्रमको ग्राफिक्स डिजाइन नसुधारेकाे भन्दै सामाजिक सञ्जालमा पुनः आलोचना भएको छ । बीएससी सीएसआईटी, बीआईटी, बी टेक (फुड टेक्नोलोजी) लगायतका शैक्षिक कार्यक्रमको विज्ञापन गर्न तयार पारिएका डिजाइनहरू भद्दा देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएकाे हाे ।

संस्थानले बनाएका ती डिजाइनहरू निकै सामान्य रहेको र यसले आईटी पढाउने विभागको इज्जत गएको विद्यार्थीहरूकाे तर्क छ । डीन कार्यालयले ती डिजाइनहरूलाई आफ्नो वेबसाइट, फेसबुक पेज लगायतका प्लेटफर्ममा प्रयोग गरेको छ ।

'डिन्स अफिस, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, टीयू' (Dean's office, Institute of Science and Technology, T.U.) बाट शेयर गरिएका ती डिजाइनहरू नराम्रो भएको अधिकांशकाे टिप्पणी छ । विज्ञापनमा प्रयाेग गरिएका शब्द पनि अशुद्ध छन् ।

फेसबुक प्रयाेगकर्ता सन्तोष पाण्डेले त्यस्ता डिजाइन सहितको फेसबुक पोस्टमा 'एमएस पेन्टमा गरेको डिजाइन' भन्दै व्यङ्ग्य गरेका छन् ।

अर्का फेसबुक प्रयोगकर्ता दिनेश केसीले त्रिवि जनशक्तिमाथि खनिँदै लेखेका छन्, "क्षमताको आधारमा भन्दा पहुँचको आधारमा जनशक्ति नियुक्त गर्ने नीति अवलम्बन गर्नुको प्रतिफल । म बरु नि:शुल्क गर्दिन्थेँ, यो बेइज्जत भन्दा ।'

त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता आभाष पौडेल लेख्छन्, "अलि डिजाइन त राम्रो गरौं न, आईटी डिपार्टको इज्जत राखौं ।'

कतिपयले विश्वविद्यालयले एक जना ग्राफिक्स डिजाइनर पनि राख्न नसक्ने अवस्था हो भन्दै प्रश्न गरेका छन् । 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विज्ञापनकाे डिजाइन नसुध्रिएकाे सन्दर्भमा कुरा गर्न प्रयास गर्दा संस्थानका डीन विनिल अर्यालसँग सम्पर्क हुन सकेन ।

तर यसअघि यही विषयमा टेकपानाले समाचार तयार पार्दा आफू लगायत डीन कार्यालयका कर्मचारीहरूले संस्थानकाे विज्ञापन डिजाइन गर्ने डीन अर्यालले बताएका थिए । त्यस्तै उनले संस्थानसँग आबद्ध कुनै ग्राफिक्स डिजाइनर नभएको समेत सुनाएका थिए । 

संस्थान अन्तर्गतका १२८ शैक्षिक संस्थाहरूले विभिन्न तहमा ४१ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा बीएससी सीएसआईटी, बीआईटी जस्ता आईटी कोर्षसमेत पर्छन् । संस्थान अन्तर्गत स्नातक तहमा मात्रै ३० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित समाचार
आईटी पढाउने त्रिविको विज्ञापन नै झुर, फेसबुक प्रयोगकर्ता भन्छन्- लाज लाग्ने डिजाइन कसले गर्छ ?

पछिल्लो अध्यावधिक: असोज ६, २०८० १५:१२