close

भारतमा गुड्न थाल्यो हाइड्रोजनबाट चल्ने बस, एक पटकमा ३५० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

असोज १३, २०८० १३:५२

भारतमा गुड्न थाल्यो हाइड्रोजनबाट चल्ने बस, एक पटकमा ३५० किमिसम्म गुड्ने

काठमाडौं । भारतले पहिलो पटक ग्रीन हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएकाे छ । भारतीय आयल निगम (आईओसी) ले हालै दुई ओटा बस सञ्चालनमा ल्याएको हो ।

पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने विकल्प स्वरूप बनाइएको हाइड्रोजन बस पर्यावरणमैत्री भएको आईओसीले बताएको छ । सार्वजनिक यातायातमा प्रयोग गरिने यी बसलाई ओईओसीले गत २५ सेप्टेम्बरदेखि सञ्चालनमा ल्याएको हाे ।

ओईओसीले पाइलट परीक्षणका रूपमा दिल्ली, हरियाणा र उत्तर प्रदेशका विभिन्न रुटहरूमा हाइड्रोजन बस गुडाउने छ । यसका लागि आईओसीले नवीकरणीय स्रोतबाट उत्पादित बिजुली प्रयोग गरेर ७५ किलो हाइड्रोजन उत्पादन गर्नेछ । हाल आईओसीको रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) सेन्टरले हाइड्रोजन उत्पादन गरिरहेको छ ।

आईओसीका अनुसार बसमा राखिने ३० केजी क्षमताका चार ओटा सिलिन्डरले ३५० किलोमिटरसम्म रेञ्ज दिन्छन् । यसको अर्थ एक पटक हाइड्रोजन भरेको बस ३५० किलोमिटरसम्म गुड्न सक्छ ।

गाडीमा हुने चार ओटा ट्याङ्की भर्न १०/१२ मिनेट लाग्ने बताइएको छ । त्यसरी हाइड्रोजनबाट चल्ने गाडीले धुवाँको साटो पानीको बाफ मात्र उत्सर्जन गर्ने दाबी गरिएको छ ।

त्यस्तै हाइड्रोजनमा अन्य इन्धनभन्दा तीन गुणा ऊर्जा भएको र यसले कुनै पनि प्रदूषण नगर्ने बताइएको छ । सामान्यत: एक किलो ग्रीन हाइड्रोजन उत्पादन गर्न ५० युनिट बिजुली र ९ केजी डियोनाइज्ड पानी (आयनहरू हटाइएको पानी) आवश्यक पर्ने जनाइएको छ । 

आईओसीले  यही वर्ष ( सन् २०२३) को अन्त्य सम्ममा यस्ता बसहरूको सङ्ख्या १५ पुर्‍याउने योजना बनाएको छ । ती बसहरूलाई पनि हाल सञ्चालन ल्याइएको दुई ओटा बसकै रुटहरूमा चलाउने ओईओसीकाे याेजना छ । यदि यस परियोजना सफलता भए जीवाश्म ऊर्जाको आयातकर्ताबाट भारत हाइड्रोजन ऊर्जाको निर्यातकर्ता बन्न सक्ने विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० १५:७