काठमाडौं । नेपाल प्रहरीकाे साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अन्य अनलाइनका माध्यममा शान्ति सुरक्षा भङ्ग बनाउने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकको पोस्टमा आएको कमेन्टका कारण बाँके जिल्लाको नेपालगञ्ज क्षेत्रमा दुई धार्मिक समुदायबीच मङ्गलवार दङ्गा भएपछि ब्यूरोले असान्दर्भिक सामग्री पोस्ट नगर्न अनुरोध गरेको हो ।
“विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुऱ्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति-सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन हुन साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ,” ब्यूराेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै प्रचलित कानूनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने ब्युरोले चेतावनी दिएको छ ।