काठमाडौं । प्रयोगकर्तामाझ पासवर्डरहित फिचर परिचित गराउन गुगलले डिफल्ट रूपमा 'पासकी' तयार पार्न सकिने अप्सन उपलब्ध गराउने भएको छ । मङ्गलवार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले सुरक्षित, सहज र भरपर्दो पासकी प्रणाली सहजै इनेबल गर्न सघाउने उद्देश्यका साथ डिफल्ट रूपमा पासकी तयार पार्ने अप्सन राख्न लागेको जानकारी दिएको हो ।
यससँगै प्रयोगकर्ताले गुगल अकाउन्ट खोलेको समयमा 'पासकी तयार पार्नुहोस्' भनिएको अप्सन देख्नेछन् । सो अप्सनमा गइसकेपछि प्रयोगकर्ताले त्यहाँ देखाए बमोजिम विभिन्न प्रक्रिया अपनाएर पासकी फिचर इनेबल गर्न सक्नेछन् ।
यसअघि गुगल अकाउन्टको सेटिङमा गएर पासकी फिचर सेट गर्नुपर्ने हुन्थ्यो । अहिले पनि गुगल अकाउन्ट सेटिङमा सो अप्सन छ । मङ्गलवार मात्र उक्त फिचर सार्वजनिक भएकाले 'तपाईंले तत्कालै पासकी तयार पार्नुहोस्' भनिएको प्रम्प्ट देख्न सक्नुहुने छैन । यद्यपि यो फिचर सबै प्रयोगकर्तामाझ छिट्टै उपलब्ध गराउने गुगलको भनाइ छ ।
गत मे महिनामा सुरक्षित रूपमा अकाउन्ट साइन इन गर्न सघाउने उद्देश्यले गुगलले पासकी फिचर सार्वजनिक गरेको थियो । पासकी फिचरमार्फत अकाउन्ट साइन इन गर्दा पासवर्ड प्रयोग गरिरहन पर्दैन । यसले डिभाइसमा भएको बिल्टइन सेक्युरिटी सिस्टम जस्तै पिन, फेस वा फिङ्गरलक स्क्यान गरेर अकाउन्ट साइन इन गर्छ ।
यद्यपि प्रयोगकर्ताले पासवर्ड प्रयोग गरेरै लगइन गर्न चाहेमा पासवर्ड पनि प्रयोग गर्न सक्छन् । पासकी फिचरमार्फत अकाउन्ट साइन इन गर्दा ४० प्रतिशत छिटो अकाउन्ट साइन इन हुने गुगलको दाबी छ ।
“पासवर्डमा राखिएका स्पेसल क्यारेक्टर र नम्बर सम्झिने काम टाउको दुखाइको विषय हो,” गुगलले ब्लगमा भनेको छ, “प्रयोगकर्तालाई पासवर्ड सम्झिने झन्झटबाट मुक्त गर्न र फिसिङ आक्रमणबाट जोगाउन पासकी फिचर ल्याएका हौं ।”
गुगलले वर्कस्पेस र क्लाउड अकाउन्ट तथा क्रोम वेब ब्राउजरमा गत वर्ष नै पासकी सपोर्ट फिचर ल्याएको थियो । त्यसबाहेक पनि अन्य थुप्रै प्लेटफर्मले पासकी फिचर ल्याएका छन् ।
तत्काललाई पासकी फिचर इनेबल गर्न सबैभन्दा पहिले गुगल अकाउन्टमा जानुहोस् । अनि माथि रहेको होम, पर्सनल इन्फो, डेटा एन्ड प्राइभेसीसँगै रहेको सेक्युरिटीको अप्सनमा जानुहोस् । यति गरेपछि पासकी इनेबल गर्ने पेज आउँछ ।
त्यहाँ रहेको ‘कन्टिन्यु’को बटनमा ट्याप गर्नुहोस् । र, डिभाइस भेरिफाइ गरेर पासकीको पेजमा जानुहोस् । त्यसपछि 'युज पासकी' बटनमा थिच्नुहोस् । यति भएपछि पासकी फिचर सेट हुन्छ ।