काठमाडौं । हालै बजारमा आएको पिक्सेल ८ प्रोले सबैभन्दा उत्कृष्ट डिस्प्ले भएको फोनको उपाधि पाएको छ । डीएक्सओ मार्क (DXOMARK)काे एक परीक्षणमा गुगलको याे फ्यागशिप फोन डिस्प्ले पर्फर्मेन्समा उत्कृष्ट बनेको हो ।
यसका लागि टेस्टरहरूले अन्य ब्रान्डका फोनहरू सहित ६ विभिन्न पक्षमा परीक्षण गरेका थिए । समग्र मूल्यांकनबाट गुगल पिक्सेल ८ प्राेले बढी अंक पाएकाे छ ।
यसअन्तर्गत रिडेबिलिटी (readability), कलर, भिडिओ, मोसन, टच र आर्टिफ्याक्ट वर्गमा परीक्षण गरिएकाे थियाे । विभिन्न अवस्थामा पढ्नका लागि डिस्प्ले कति सजिलो छ, डिस्प्लेमा रङहरू कत्तिको सही देखिन्छ, प्रकाश कम वा बढी हुँदा भिडिओ कस्तो देखिन्छ, डाइनामिक कन्टेन्ट (फ्रेम ड्रप, मोसन ब्लर)मा फोन कति राम्रो छ, रेस्पोन्स टाइम र एक्युरेसी कस्तो छ, इमेज रेन्डरिङ, मोसन फ्लस कस्तो छ लगायतको कुराकाे परीक्षण गरिएको थियो ।
गुगलको फोनले ती सबै वर्गमा बढी अंक पाए पनि आर्टिफ्याक्ट टेस्टमा भने कम अंक पायो । यस वर्गमा साओमीको मिक्स फोल्ड टु १६१ अंक पाउँदै पहिलो भएको थियो ।
तर रिडेबिलिटी र कलरमा भने क्रमश: १६२ र १६४ अंक पाउँदै पिक्सेल ८ प्रोले सबै ब्रान्डलाई पछि पार्याे । यही परीक्षणका दौरान एभ्रेज पिक्चर लेभल (एपीएल) २० प्रतिशत राख्दा फोनको ब्राइटनेश तह २१०० निट्स पाइएको थियो । त्यस्तै लो लाइट सेटिङमा पनि डिस्प्ले राम्रो भएको र कलर एक्युरेसी पनि उत्कृष्ट पाइएको थियो । याे फोनले औसतमा १५४ अंक पाएको थियो ।
गत वर्ष भने डीएक्सओ मार्कको परीक्षणमा सामसङको ग्यालेक्सी जेड फोल्ड फाइभ उत्कृष्ट डिस्प्ले भएकाे फाेन बनेको थियो ।