close

मोटोरोलाको नयाँ फोन, घुमाएरै फोनलाई घडी बनाएर लगाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ९, २०८० २०:४४

मोटोरोलाको नयाँ फोन, घुमाएरै फोनलाई घडी बनाएर लगाउन सकिने

काठमाडौं । अजीवका फोन ल्याउन माहिर मोटोरोलाले बेन्डिङ फोन प्रदर्शन गरेको छ । मंगलवार आयोजित लेनोभो टेक इभेन्ट वर्ल्ड २३ मा कन्सेप्ट  स्मार्टफोनका रूपमा कम्पनीले यो बेन्डिङ फोन प्रदर्शन गरेको हो । 

लेनोभोको स्वामित्वमा रहेको यो कम्पनीले फ्लेक्जिबल डिस्प्ले प्रविधिलाई बढावा दिने उद्देश्यले यस्तो स्मार्टफोन ल्याएको बताएको छ । यसमा फुल एचडी प्लस पीओलेड डिस्प्ले समावेश गरिएको छ । जसको सहायताले प्रयोगकर्ताले फोनलाई आफ्नो आवश्यकता अनुसार विभिन्न आकारमा मोड्न सक्नेछन् ।

यो डिस्प्ले कम्पनीका अरो फोल्डेबल र रोलेबल स्मार्टफोन तथा पीसीका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । नाडीमा बेन्ड गरेर राखेको बेला देखिने स्क्रिनको विडगेट मात्र राख्न सकिन्छ। जसले गर्दा फोन ब्रास्लेट जस्तो स्मार्टफोन देखिन्छ । त्यसबाहेक पनि बेन्ड गरेको बेला यसमा विभिन्न मोडहरू अन गर्न सकिन्छ । 

सिधा राख्यो भने फोनमा ६.९ इन्चको डिस्प्लेमा एन्ड्रोइड अनुभव लिन सकिन्छ । त्यसबाहेक बेन्ड गरेको बेला पनि उक्त फोनबाट ४.६ इन्च डिस्प्लेमा एन्ड्रोइडका विभिन्न प्रोग्राम र सफ्टवेयर प्रयोग गर्न सकिन्छ । 

यो कन्सेप्ट फोन मात्र भएकाले यसबारे थप विवरण बाहिर आएका छैनन् । विशेषगरी यसको मूल्य कति अनि बजारमा कहिले आइपुग्छ भन्ने विषय स्पष्ट छैन । कम्पनीले कुन मोडेलमा यस्तो डिस्प्ले समावेश गर्न लागेको छ त्यो पनि खुलाएको छैन । 

कार्यक्रममा लेनोभोले आफूले एआईका क्षेत्रमा गरेका कामका बारेमा पनि चर्चा गरेको थियो । लेनोभोका अनुसार कम्पनीले स्मार्टफोन र पीसीका लागि उपयुक्त हुने पर्सनल असिस्टेन्ट मोटो एआई विकास गरिरहेको छ । एआई मोडेलमा आधारित तो पर्सनल असिस्टेन्टले प्राकृतिक आवाज र टेक्स्टमा प्रयोगकर्तासँग अन्तर्क्रिया गर्नेछ । 

त्यस्तै क्यामेराबाटै स्तरीय तरिकाले डकुमेन्ट स्क्यान गर्न २.० मोबाइल डक स्क्यान टुलमा पनि काम गरिरहेको कम्पनीले जनाएको छ । लामा लामा टेक्स्टलाई सहज र छोटोमा बुझाइदिने एआई टेक्स्ट समराइजेसन टुल विकास भइरहेको कम्पनीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालको युगमा प्रयोगकर्ताको डेटा सुरक्षित राख्नु निकै आवश्यक हुन्छ । यसका लागि कम्पनीले प्राइभेसी कन्टेन्ट अब्फ्युकेसन कन्सेप्टमा काम भइरहेको जानकारी दिएको छ ।

यो एआईमा आधारित यस्तो टुल हो जसले प्रयोगकर्ताको फोटो, नाम कुनै पनि सामाजिक सञ्जालमा देखिएको छ भने त्यसलाई ब्लर गरेर प्रयोगकर्ताको गोपनीयता र अन्य डेटा सुरक्षित राख्नेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० २१:४