close

१९ अर्ब किलोमिटर टाढा पुगेको अन्तरिक्ष यान ‘भोयजर-२’ लाई नासाले पठायो सफ्टवेयर अपडेट

टेकपाना टेकपाना

कात्तिक १०, २०८० १८:४३

१९ अर्ब किलोमिटर टाढा पुगेको अन्तरिक्ष यान ‘भोयजर-२’ लाई नासाले पठायो सफ्टवेयर अपडेट

काठमाडौं । लामो समयसँग अन्तरिक्ष यान सञ्चालन गरिरहन नासाले भोयजर-२ लाई सफ्टवेयर अपडेट उपलब्ध गराएको छ । पृथ्वीभन्दा झन्डै १२ अर्ब माइल टाढा (करिब १९ अर्ब ३१ लाख किलोमिटर) टाढा रहेको भोयजर-२ लाई नासाले अपडेट उपलब्ध गराएको हो । 

गत वर्ष,भोयजर-१ अन्तरिक्षमा कसरी चल्छ भन्ने कुराको नियन्त्रण गर्ने प्रणाली एएसीएस (AACS) मा समस्या आएको थियो । सिस्टममा खराबी आएका कारण उक्त यानले पृथ्वीमा अनियमित डेटा पठाउन थालेको थियो । यसको कारण पत्ता लगाउन नासाका इन्जिनियरहरूलाई महिनौं लाग्यो । पछि उनीहरूले उक्त सिस्टमको एक विशेष भागमा गलत सेटिङ सेट गरिएको पत्ता लगाए । यद्यपि गलत सेटिङ कसरी सेट भयो भन्ने विषयको जानकारी अहिलेसम्म बाहिर आइसकेको छैन ।

अब, नासाले भोयजर-२ नामक अर्को अन्तरिक्ष यानमा यस्तै समस्या हुन नदिन र भोयजर वनलाई फेरि यो समस्या नआओस् भन्ने कुरा सुनिश्चित गर्न सफ्टवेयर बनाएको छ । यो सफ्टवेयर एक विशेष टुल जस्तै हो, जसले अन्तरिक्ष यानलाई सही रूपमा काम गर्न मद्दत गर्ने बताइएको छ ।

भोयजर-२ का परियोजना प्रबन्धक सुजेन डोड भन्छिन्, “यो सेक्युरिटी प्याच एउटा बीमा नीति जस्तै हो, जसले भविष्यमा यान सुरक्षित राख्छ र  अनुसन्धानलाई सकेसम्म लामो समयसम्म जारी राख्न सहयोग गर्छ । इन्टरस्टेलर स्पेसमा सञ्चालन हुने अन्तरिक्ष यानहरू यी दुई​ मात्र हुन् । त्यसैले यी यानले फिर्ता पठाइरहेको डेटा हाम्रो ब्रह्माण्डको रहस्य बुझ्न अति नै महत्त्वपूर्ण छन् ।”

पीसी म्यागकका अनुसार १२ अर्ब माइल टाढा रहेको यानलाई सफ्टवेयरको विशेष भाग पठाउन १८ घण्टाभन्दा बढीको समय लागेको छ । उक्त सफ्टवेयरलाई चाहेको ठाउँमा राख्न सकिएन भने त्यसले महत्त्वपूर्ण निर्देशन परिवर्तन गरिदिने जोखिम छ । त्यसबाहेक पनि केही अप्रत्याशित समस्या निम्तिन सक्ने अनुमान छ ।

त्यसैले यसका लागि उक्त सिस्टममा मेमोरी डबल टेस्ट भइरहेको बताइएको छ । यदि सबै कुरा भने बमोजम भयो भने उक्त सफ्टवेयर २८ अक्टोबरदेखि एक्टिभेट हुनेछ ।

अर्को अन्तरिक्ष यान भोयजर-१ पृथ्वीभन्दा १५ अर्ब माइल टाढा रहेको छ । उक्त यानले पठाएका डेटा पनि महत्त्वपूर्ण भएकाले सो यानलाई पनि सफ्टवेयर आवश्यक परिरहेको छ । सो यानमा सफलतापूर्वक अपडेट पठाउन पनि भोयजर-२ लाई अपडेट पठाएर परिक्षण गरिएको नासाका वैज्ञानिकले बताएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८० १८:४३