काठमाडौं । गत वर्ष अक्टोबरमा एलन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटर (हाल एक्स)को बजारमूल्य एक वर्षमै २५ अर्बले घटेर १९ अर्ब डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार एक वर्षमा एक्सकाे बजारमूल्यमा ५५ प्रतिशत गिरावट आएको हो ।
माइक्रोब्लगिङ साइटका रूपमा परिचित ट्वीटर खरिद गरेपछि मस्कले त्यसमा थुप्रै परिवर्तन ल्याएका छन् । कम्पनी खरिद गर्ने क्रममा मस्कले वास्तविक मूल्यभन्दा बढी तिरेर खरिद गरेका थिए । मस्क आफैंले पनि ट्वीटर खरिद गर्नुअघि आफूले बढी शुल्क तिर्न लागेको स्वीकारेका थिए ।
तत्काल बजार अवस्था जस्तो भएपनि भविष्यमा कम्पनीले बजारमा राम्रो प्रभाव पार्ने मस्कको विश्वास छ । त्यसैले उनले प्रतिशेयर ५४.२० डलर तिरेर ट्वीटरको सम्पूर्ण शेयर खरिद गर्ने बताए । त्यही समयमा मस्क र तत्कालीन ट्वीटर व्यवस्थापनबीच थुप्रै विवाद पनि भयो ।
सो प्लेटफर्ममा नक्कली अकाउन्टको सङ्ख्या पारदर्शी नभएको भन्दै ट्वीटर खरिद गर्ने आफ्नै निर्णयबाट मस्क पछि हटे । तर, ट्वीटरले सोही विषयमा मुद्दा दायर गर्यो ।
मुद्दा सुनवाई हुने दिन २७ अक्टोबर २२ मा नै मस्कले ट्वीटर खरिद गरिदिए । गत अप्रिलमा विश्लेषक टकर कार्ल्सनले अन्तर्वार्तामा मस्कले ट्वीटरको मूल्यभन्दा दोब्बर बढी मूल्य तिरेर खरिद गरेको उल्लेख गरेका थिए । गत मार्चमा लिक भएको कम्पनीको विवरणमा मस्क आफैंले पनि एक्सको मूल्य २० अर्ब हाराहारी भएको उल्लेख थियो ।
ट्वीटर आफ्नो स्वामित्वमा भएपछि मस्कले त्यसमा थुप्रै परिवर्तन गरे । लिगेसी चेकमार्क हटाउने, कम्पनीको नाम परिवर्तन गर्ने लगायतका निर्णय मस्कले सो प्लेटफर्म खरिद गरेको एक वर्षमै गरे ।
सेप्टेम्बरमा बाहिरिएको रिपोर्टलाई आधार मान्ने हो भने मस्कले सो प्लेटफर्म खरिद गरिसकेपछि कम्पनीको आम्दानी ६० प्रतिशतले घटेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिने नाममा सो प्लेटफर्ममा द्वेषपूर्ण अभिव्यक्ति, दुर्व्यवहार र रङ्गभेद सम्बन्धी गतिविधि बढ्दैछन् ।
मस्ककाे नेतृत्वमा रहेको एक्सले कैयौं कानूनी झमेलाको सामना गर्दै आएको छ । फोर्ब्सका अनुसार कम्पनीले कर्मचारीलाई दिने भनेको रकम उपलब्ध नगराएकाले मुद्दाको सामना गरिरहेको छ । कतिपय कम्पनीले एक्सले प्रयोगकर्ताको डेटा सङ्कलन गरी त्यसको उलङ्घन गरिरहेको दाबी समेत गरेका छन् ।