close

भारतमा ल्यापटप उत्पादन गर्दै इन्टेल, मूल्य सस्तो हुने

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १९:५०

भारतमा ल्यापटप उत्पादन गर्दै इन्टेल, मूल्य सस्तो हुने

काठमाडौं । चिप निर्माता इन्टेलले भारतमा ल्यापटप उत्पादन गर्न त्यहाँका आठ ओटा स्थानीय कम्पनीसँग सहकार्य गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार ल्यापटप उत्पादन गर्न इन्टेलले यस्ताे सहकार्य गर्न लागेकाे हो ।

यसका लागि इन्टेलले इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ सर्भिस (ईएमएस) र ओरिजिनल डिजाइन म्यानुफ्याक्चर्स (ओडीएम) दुवै खालका कम्पनीहरूसँग सहकार्य गर्नेछ । जसमा भगवती प्रोडक्ट्स, डिक्सन टेक्नोलोजी, केनेस टेक्नोलोजी, ओप्टिमस इलेक्ट्रोनिक्स, पानाचे डिजिलाइफ, स्माइल इलेक्ट्रोनिक्स, सिरमा एसजीएस र भीभीडीएन टेक्नोलोजिज रहेका छन् ।

यी आठ कम्पनीहरूसँग आफ्नो विशेषज्ञता प्रयोग गरेर इन्टेलले सस्ताे मूल्य अर्थात् इन्ट्री-लेभलका ल्यापटपहरू उत्पादन गर्ने जनाएको छ । इन्टेलको यस कदमले भारतको डिजिटल अर्थतन्त्रलाई एक खर्ब डलर पुर्‍याउने र इलेक्ट्रोनिक्स उत्पादन इकोसिस्टमलाई २०२५-२६ सम्ममा ३०० अर्ब डलरसम्म पुर्‍याउन सहयोग गर्ने बताइएको छ ।

साथै यस कदमले भारतको ‘मेक इन इन्डिया’ अभियानलाई पनि सहयोग गर्ने बताइएको छ ।

योसँगै भारतमा निर्मित डिभाइसहरूको प्रदर्शनी गर्ने गरी इन्टेलले नै आउँदो नोभेम्बरमा इन्डिया टेक इकोसिस्टमको शिखर सम्मेलन आयोजना गर्ने भएकाे छ ।

पछिल्लो समय प्रविधिका ठूला कम्पनीहरूले आफ्ना उत्पादन भारतमा गर्न सुरु गरेका छन् । हालै गुगलले पिक्सेल ८ फोन भारतमा बनाउने र एप्पलले टाटा ग्रुपमार्फत आईफोन र अन्य उपकरणकाे उत्पादन बढाउने घोषणा गरेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१७