close

आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक, छ हजार ७२१ विद्यार्थी उत्तीर्ण

टेकपाना टेकपाना

कात्तिक २२, २०८० ८:२

आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक, छ हजार ७२१ विद्यार्थी उत्तीर्ण

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (बी.ई/बी.आर्क) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै  संस्थानले नतिजा सार्वजनिक भएकाे जानकारी दिएकाे हाे ।

शुल्क विवादका कारण लामो समय रोकिएको प्रवेश परीक्षा गत कात्तिक १४ देखि कात्तिक २० सम्म सञ्चालन भएको थियो । पहिलो पटक सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी), पुल्चोक ललितपुर र पश्चिमाञ्चल क्याम्पस, पोखरा गरी दुई स्थानमा भएको परीक्षामा नाै हजार ९०१ जनाले भौचर भरेपनि नाै हजार ७७१ जना मात्र सहभागी भएका थिए ।

उनीहरूमध्ये छ हजार ७२१ प्रवेश परीक्षामा उत्तीर्ण भएको आईओई प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्यले बताए ।

अब उत्तीर्ण परीक्षार्थीमध्ये पाँच ओटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त १० कलेजहरूमा दुई हजार ३०४ जना गरी जम्मा चार हजार ३४४ जना विद्यार्थीले इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन ।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:४