काठमाडौं । हालैको समयमा एक निकै अनौठो र विचित्रको डेलिभरी स्क्यामको घटना बाहिर आएको छ । सोझै एप्पलको आधिकारिक वेबसाइबाट आईफोन १५ प्रो म्याक्स अर्डर गरेका एक जना बेलायती नागरिक त्यसको डेलिभरी पाएपछि हैरान छन् । ती व्यक्तिले रेडिटमा आफ्नो उक्त अनुभव शेयर गरेको विषयलाई एन्ड्रोइड अथोरिटीले समाचार बनाएको छ ।
खरिदकर्ताको डेलिभरी अघि एप्पलबाट सम्पूर्ण डेलिभरी कन्फर्मेसन र डेलिभरी पार्टनर डाइनामिक पार्सेल डिस्ट्रिब्युसन (डीपीडी) बाट ट्रयाकिङ डिटेल प्राप्त गरिरहेको कुरा उल्लेख गरेका छन् ।
फ्ल्यागशिप आईफोन जस्तो देखिने बक्स खोल्ने बित्तिकै ती खरिदकर्ताले कुनै गडबडी भएको हुनसक्ने अनुमान लगाइसकेका थिए । पहिलो कुरा त उनले उक्त फोनमा स्क्रिन प्रोटेक्टर राखिएको देखे, जसबाट उनी एप्पलले फिर्ता आएको फोन पठायो कि भन्ने ठानेर अचम्मित पनि भए ।
यद्यपि जब उनले बक्सा खोल्दै जाँदा वास्तविक अवस्था थाहा हुँदै गयो । "अर्को कुरा मैले त्यतिखेर थाहा पाएँ, जब मैले त्यसलाई अन गरें, त्यो स्क्रिन सही थिएन । त्यसको कालो भागमा उज्यालो हुने तरिका यस्तो थियो कि, त्यसले ओएलईडी नभएको प्रस्ट हुन्थ्यो । त्यस्तै तल्लो भागमा चिउडो जस्तो थियो, जसले त्यो सही फोन होइन भन्ने देखाउँथ्यो," ती व्यक्तिले उल्लेख गरेका छन् ।
फोन स्विचिङ गरिसकेपछि खरिदकर्ताले कमजोर किसिमको सेटअप प्रक्रिया देखे । भित्री स्क्रिन देखेपछि भने उनलाई एप्पलले आधिकारिक रूपमा पठाएको फोन साँच्चिकै नक्कली भएको कुरा थाहा भयो ।
"बाहिरी भाग हेर्ने बित्तिकै मैले त्यो एन्ड्रोइड फोन हो भन्ने कुरा थहा पाएँ," उनले भनेका छन् । टिकटक, फेसबुक र युट्युब जस्ता प्रि-इन्स्टल भएर आउने एपले आईफोन १५ प्रो म्याक्स भनिएको फोन नक्कली हो भन्ने कुराका लागि थप प्रमाण थिए ।
भाग्यवश ती प्रयोगकर्ताले आफ्नो एप्पल आईडी राखेर लगइन भने गरेनन् र नक्कली सामानमा एप्पल वालेट सेटिङ गर्नबाट टाढा रहे । यदि त्यसो गरेको भए उनको व्यक्तिगत तथा वित्तीय जानकारी उक्त डिभाइस निर्माताको हात लाग्न सक्थ्यो ।
सोझै एप्पलबाट अर्डर गरेको पार्सेल प्राप्त गर्दा नक्कली आईफोन हात पर्ने भन्ने कुरा निकै असामान्य हो । ईकमर्स प्लेटफर्मबाट खरिद गर्दा भने यस्तो घटना घट्न सक्छ, तर एप्पल आफैंमा सुरक्षित डेलिभरीका लागि परिचित छ ।
यो मामिलामा स्पष्ट रूपमा के थाहा हुन्छ भने एप्पलले फोन शिपिङ गर्ने कार्य र ती व्यक्तिले प्राप्त गर्ने कार्यका बीच कतै कुनै समस्या भएको हुन सक्छ । ग्राहकले एप्पलकहाँ सपोर्ट टिकेट दर्ता गरिसकेका छन् र कम्पनीले चाँडै त्यसको जवाफ दिने बताएको छ ।
यो घटनाले धेरैलाई एउटा पाठ भने दिएको छ, शिपमेन्टमा हस्ताक्षर गर्नु अघि नयाँ फोनको प्याकेज राम्रोसँग खोलेर चेकजाँच गर्न जरुरी छ ।