काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सेवाहरू दिँदा लाग्ने उच्च लागत कम गर्न माइक्रोसफ्टले आफ्नै कम्प्युटिङ चिप ल्याएको छ । कस्टम डिजाइन गरिएको 'माइया १००' र ‘एजुर कोबाल्ट’ नामका दुई ओटा एआई चिप माङक्रोसफ्टले हालै सार्वजनिक गरेको हो ।
यी चिप बिक्रीका लागि भन्दा पनि माइक्रोसफ्टको आफ्नै एज्युर डेटा सेन्टर सञ्चालन गर्न तयार पारिएको जनाइएको छ । सन् २०२४ मा उपलब्ध हुने यी चिप ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चर कम्पनी (टीएसएमसी) को फाइभ नानो मिटर म्यानुफ्याक्चर प्रविधि प्रयोग गरेर तयार पारिएको हो ।
यी दुई चिपमध्ये 'माइया १००' लाई लार्ज ल्याङ्ग्वेज मोडेल सहित अन्य एआई मोडोललाई तालिम दिन र ‘एज्युर कोबाल्ट’ भने जेनेरेल क्लाउड सर्भिसका लागि प्रयोग गरिने बताइएको छ ।
समग्रमा यी चिपहरूले एआई सम्बन्धी कामका लागि एनभिदियाको जीपीयूमा भर पर्नुपर्ने माइक्रोसफ्टको बाध्यता हट्ने भएको छ । पछिल्लो समय आफ्ना सबै व्यापारमा एआई एकीकृत गरिरहेको माइक्रोसफ्टका लागि यो उपलब्धि महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।