काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)माथि नियमन गर्न जर्मनी, फ्रान्स र इटाली सहमत भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युरोपमा एआई नियन्त्रण गर्ने योजनाका साथ यी तीन देश एक ठाउँमा उभिएका हुन् ।
यी देशले गरेको सम्झौतामा भविष्यमा एआईलाई कसरी नियमन गर्ने भन्ने विषय प्रमुख बुँदा रहेको छ । यसअन्तर्गत युरोपभित्रका ठूला तथा साना एआई कम्पनीहरूका लागि स्वैच्छिक नियम बनाएर लागू गरिने बताइएको छ ।
त्यस्तै यस सम्झौताले युरोपेली संघले युरोपमा लागू गर्ने एआई सम्बन्धी कानूनलाई समेत गति दिने अपेक्षा गरिएको छ, जुन अझै बन्ने क्रममा छ । हाल युरोपेली आयोग, युरोपेली संसद र ईयू काउन्सिल एआई नियमन गर्न आवश्यक पर्ने आधार निर्धारण गर्न वार्तामा संलग्न छन् ।
सोही क्रममा गत जुन महिनामा युरोपेली संसदमा एआईबाट निम्तिन सक्ने सुरक्षा जोखिम सम्बोधन गर्न ‘एआई ऐन’ टेबल भएको थियो । युरोपमा एआईको प्रमुख खेलाडीका रूपमा रहेका यी तीन देशको यो कदम एआई क्षेत्रका लागि पनि विशेष हुने विश्लेषण गरिएकाे छ ।