close

अनलाइन जुवा तथा क्यासिनो खेलाउने ६ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर ५, २०८० १८:१०

अनलाइन जुवा तथा क्यासिनो खेलाउने ६ जना पक्राउ

काठमाडौं । अनलाइन जुवा तथा क्यासिनो खेलाएको आरोपमा छ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरका विभिन्न स्थानबाट छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाका ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बुका २२ वर्षीय आमोश राई, उदयपुरकी २० वर्षीया निका राई, सिन्धुपाल्चोकका २९ वर्षीय विजय थापा, बागलुङका २७ वर्षीय पर्वत पुन र सोलुखुम्बुका २७ वर्षीय डेकर राई रहेका छन् ।

उनीहरूले सर्वसाधारणलाई अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाएको सूचना प्रहरीलाई प्राप्त भयो । अनुसन्धान गर्दै जाँदा विजय थापा लगायतका व्यक्तिहरू सट्टेबाजी गर्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले आरोपी व्यक्तिहरूबाट विभिन्न कम्पनीका ल्यापटप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मनिटर दुई थान, सीपीयू एक थान र विभिन्न कम्पनीका १४ थान मोबाइल बरामद गरेको छ ।

प्रहरीका अनुसार आरोपीले मेगन गले, केर्री रक जस्ता फेसबुक अकाउन्ट खोलेका थिए । त्यसपछि ह्वाट्सएप, टेलिग्राम जस्ता मेसेजिङ प्लेटफर्ममा जोडिन्थे । अनि मिल्की वे, हाईपोलर, ओरियनस्टार, गेम रुम, भी-पावर, एक्स गेम्स, अल्ट्रा मोनस्टर, फायर किरिन, पान्डामास्टर, लाइफ अफ लक्जरी जस्ता अनलाइन जवाका प्लेटफर्ममा रकम बाजी लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १८:१०