काठमाडौं । गीत अथवा पडकास्ट सुन्न स्पोटिफाई प्रयोग गर्नुहुन्छ भने तपाईंले 'स्पोटिफाई र्याप्ड' सुन्नु भएको हुन सक्छ । अङ्ग्रेजी वर्षको अन्त्यतिर कम्पनीले वर्षभर तपाईंले सुनेका सामग्रीको विभिन्न तथ्याङ्क उपलब्ध गराउने गर्छ ।
यसमा तपाईंले वर्षभर बढी सुनेका १०० गीत/कलाकार, एल्बम, पडकास्ट, जन्रा जस्ता कुराहरूको तथ्याङ्क देख्न सक्नुहुन्छ । जसको ग्राफिक्स निकै आकर्षक र रमाइलो हुने गर्छ । यसले तपाईंको गीत सुन्ने तरिकाबारे धेरै कुरा बताउन सक्छ ।
स्विडिश स्ट्रिमिङ कम्पनीले यस वर्षको 'स्पोटिफाई र्याप्ड २०२३' ल्याइसकेको छ । आज तपाईंलाई आफ्नो 'स्पोटिफाई र्याप्ड' निकाल्ने तरिकाबारे जानकारी दिने छौं ।
स्पोटिफाई र्यापअप मोबाइल एप तथा वेबबाट सजिलै पाउन सकिन्छ । मोबाइलबाट 'स्पोटिफाई र्याप्ड' पाउन सबैभन्दा सुरुमा एप खोल्नुहोस् । यदि अहिले एप खोल्दा 'योर २०२३ र्याप्ड' देख्नु भएन भने सर्चबारमा सर्च गर्न सक्नुहुन्छ । अथवा माथि रहेको मेन बटनमा क्लिक गरेर स्क्रोल गर्न सक्नहुन्छ । अलि तल र्याप्ड बटन देखिन्छ । त्यसमा क्लिक गरेर तपाईं आफ्नो स्पोटिफाई र्याप्डमा पुग्न सक्नुहुन्छ । त्यस्तै वेबबाट र्याप्डमा पुग्न यहाँ क्लिक गर्नुहाेस् ।
तर यदि तपाईंले स्पोटिफाईको पुरानो भर्सनको एप चलाइरहनु भएको छ भने यसमा पहुँच पाउन सक्नुहुन्न । त्यस्तै प्लेटफर्म नि:शुल्क चलाउने प्रयोगकर्ताले पूरै तथ्याङ्क डाउनलोड गर्न पाउँदैनन् । साथै कतिपय स्थानमा 'स्पोटिफाई र्याप्ड' उपलब्ध नहुने कम्पनीको भनाइ छ ।