close

अब फेसबुक मेसेन्जर र इन्स्टाग्राममार्फत एकै पटक च्याट गर्न नमिल्ने

टेकपाना टेकपाना

मंसिर १९, २०८० १३:५६

अब फेसबुक मेसेन्जर र इन्स्टाग्राममार्फत एकै पटक च्याट गर्न नमिल्ने

काठमाडौं । फेसबुक मेसेन्जर र इन्स्टाग्रामबीच उपलब्ध क्रस-एप च्याट सिस्टम यसै महिना अर्थात् डिसेम्बर मध्यदेखि बन्द हुने भएको छ । तीन वर्षअघि फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई एउटै प्लेटफर्मबाट च्याट गर्न सघाउने उद्देश्यले मेटाले क्रस-एप च्याट सिस्टम सुरु गरेको थियो ।

यसको सहायताले प्रयोगकर्ताले इन्स्टाग्राम कन्ट्याक्टमा भएका अकाउन्टलाई फेसबुक मेसेन्जरबाट र फेसबुकमा भएका कन्ट्याक्टलाई इन्स्टाग्रामबाटै च्याट गर्न सक्थे ।

सामाजिक सञ्जालमा आफूले चिनेका वा आफूलाई आवश्यक पर्ने व्यक्तिसँग च्याटमार्फत अपडेट भइरहन मेटाले यो सुविधा सुरु गरेको थियो । तर, कम्पनीले एकाएक डिसेम्बरको मध्यदेखि यो फिचर हटाउने घोषणा गरेको छ । 

क्रस-एप च्याट सिस्टम हटाउनुको कारण भने कम्पनीले खुलाएको छैन । सम्भवः यो परिवर्तन युरोपको डिजिटल मार्केट एक्ट (डीएमए) सँग सम्बन्धित भएको हुनसक्ने बताइएको छ ।

क्रस-एप च्याट सिस्टम बन्द भएसँगै यसअघि मेसेन्जरमा इन्स्टाग्राम अकाउन्ट र इन्स्टाग्राममा फेसबुक अकाउन्टसँग गरिएको कुराकानी के हुन्छ भन्ने जिज्ञासा हुनसक्छ । कम्पनीका अनुसार अब इन्स्टाग्राममा कुनै पनि फेसबुक प्रयोगकर्तासँग नयाँ च्याट सुरु गर्न सकिने छैन ।

त्यस्तै यसअघि मेसेन्जरबाट इन्स्टाग्राम अकाउन्ट र इन्स्टाग्रामबाट फेसबुक अकाउन्टमा गरिएका च्याटमा मेसेज पठाउन सकिनेछैन । साथै फेसबुक अकाउन्टबाट इन्स्टाग्राम अकाउन्टमा गरिएको मेसेज सिन भएको छ वा छैन भन्ने पनि देखिने छैन ।

मेटाले यसअघि मेसेन्जरमा आउने एसएमएस तथा एमएमएस सेवा बन्द गरेको थियो । अर्थात् गत सेप्टेम्बरदेखि सिमबाट पठाइएका एसएमएस मेसेन्जरमा देखिने फिचर बन्द भएको थियो । कम्पनीले हालै मेसेन्जर लाइट एप पनि बन्द गरेको छ । मेटाले मेसेन्जरलाई स्तरीय बनाउन यी कदम चालेकाे विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १४:१