close

नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २८, २०८० २०:४४

नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । नेपाल टेलिकमको कपर केबल तार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बुधवार तार चोरेर लैजाँदै गरेको अवस्थामा एक गाडीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र भारत मोतिहारी बिहार स्थायी घर भइ हाल हेम्जा पोखरा बस्ने ३९ वर्षीय श्यामनाथ जैसवाल रहेका छन् । 

प्रहरीका अनुसार कार्यालयमा मङ्गलवार पोखरा महानगरपालिकाको विभिन्न स्थानको बिजुलीका पोलमा रहेको नेपाल टेलिकमको कपर केबलका तार चोरी भएको भन्ने सूचना आएको थियो । त्यसैको आधारमा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले बुधवार दिउँसो गोस्ते जाने सडक खण्डमा जाँदै गरेको ग २ च ५३६ नम्बरको सुजुकी मारुती गाडीमा उनीहरूलाई पक्राउ गरेको हो ।

गाडीमा चेकजाँच गर्दा पछाडिको सिट र डिक्कीमा टुक्रा-टुक्रा रोलिङ गरेको अवस्थामा १०० पेयरको १५३ मिटर, ७० पेयरको १३ मिटर, ५० पेयरको २८ मिटर, ३० पेयरको १०४ मिटर र २० पेयरको ३३ मिटर गरी जम्मा ३३१ मिटर कपर केबल तार फेला पारेको हो । 

उनीबाट तार र गाडी बरामद गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० २०:४४