close

यी ठाउँमा प्रयोग भइरहेको छ नेपाल टेलिकमले उपलब्ध गराउने एम-टु-एम सिमकार्ड

टेकपाना टेकपाना

पुस १, २०८० १३:११

यी ठाउँमा प्रयोग भइरहेको छ नेपाल टेलिकमले उपलब्ध गराउने एम-टु-एम सिमकार्ड

 

काठमाडाैं । नेपाल टेलिकमले मोबाइल सेवामार्फत व्यक्ति व्यक्तिबीच हुने सम्पर्कमा सीमित नरही उपकरण र व्यक्ति तथा उपकरण र उपकरण (मसिन-टु-मसिन) बीच समेत सन्देश आदानप्रदान गर्न एम-टु-एम (M2M) सिम उपलब्ध गराउँदै आएको छ । मसिनबाट अर्को मसिनमा सम्बन्ध स्थापित गरी सन्देश प्रवाह गर्न यस्ताे सिमकार्ड प्रयोग गरिन्छ ।

मसिनबाट मसिनमा आवश्यक सन्देश र गतिविधिहरु पठाएर पनि कामहरु गर्न प्रयोग हुने भएकाले यसलाई एम-टु-एम सिम भनिएको हो । मसिनको सम्बन्ध सर्भरसँग स्थापित गरी मसिनमा भएका गतिविधि र कार्यका सूचना निरन्तर लिइरहन यो सिमको प्रयोग अत्यन्त तीव्र गतिमा भइरहेको टेलिकमले जनाएकाे छ ।

याे सिमको प्रयोग भेइकल ट्र्याकिङ, पेमेन्ट नाेटिफिकेसन, एनईए (नेपाल विद्युत प्राधिकरण): स्मार्ट स्ट्रिट लाइट, स्माेक डिटेक्सन, साना/ठूला उद्योगहरूको गतिविधि निगरानी तथा नियन्त्रण गर्न प्रयाेग भइरहेकाे छ ।

हाल नेपाल टेलिकमले एम टु एम सिम ग्राहकको सुविधाका लागि प्याकेज प्रदान गरी उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराउने एमटुएम कम्युनिकेसन लक्षित प्याकेजहरु लोकप्रिय रहेको र विभिन्न संघसंस्थाहरु यो सेवाको प्रयोगतर्फ आकर्षित भइरहेकाे कम्पनीकाे भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण, खानेपानी कार्यालय, जल तथा मौसम विज्ञान विभाग जस्ता सेवा वितरण गर्ने संस्थाले यो सिम प्रयोग गरी सेवाहरूलाई थप व्यवस्थित बनाइरहेकाे कम्पनीले जानकारी दियाे ।

सिमको प्रयोगबाटै विद्युत प्राधिकरणले हरेक घरका मिटरमा भइरहेका गतिविधि उसले चाहेको कार्यालयको सर्भरमा प्राप्त गरिरहेको छ । यसको प्रयोग सीसीटिभी, वासिङ मसिन, रेफ्रिजेरेटर लगायतका अन्य उपकरणलाई कुनै प्रणालीमा आबद्ध गर्न सकिन्छ । निवास, कार्यालय तथा अन्य कार्यक्रम स्थलहरूमा एम टु एम सिमको प्रयोग गरी हरेक क्षणका गतिविधिहरू हेरेर आवश्यक निर्देशन दिन वा सूचना प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०८० १३:१२