close

एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएनः प्रचण्ड

टेकपाना टेकपाना

पुस ३, २०८० १५:१७

एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएनः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले आफूलाई एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा थाहा नभएको बताएका छन् । मङ्गलवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू दुबईमा हुँदा एनसेलको शेयर खरिद-बिक्री भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरे । 

शेयर खरिदबिक्रीमा प्रधानमन्त्रीकै संलग्नता र अन्य विषयमा सांसदहरूले प्रश्न गरेपछि उनले यस घटनामा आफूलाई केही पूर्वजानकारी नभएको जिकिर गरे ।

"एनसेलले हाम्रो नियमअनुसार दूरसञ्चार प्राधिकरणको स्वीकृति लिएर मात्र शेयर खरिद-बिक्री गर्न पाउँछ," प्रचण्डले बैठकमा भने, "एनसेलले हाम्रो दूरसञ्चार प्राधिकरणलाई सोधेको भए र मैले थाहा नपाएको भए माननीय सदस्यले भनेको कुरा ठीक हो । उसले (एनसेल) त केही भनेकै छैन । हाम्रो आधिकारिक प्रक्रियामा कुनै एनसेल कहीँ पसेकै छैन, मैले मिडियाबाहेक कहाँबाट थाहा पाउनु त ?"

"तपाईं माननीय सदस्यहरूले यही भएर पनि पहिल्यै किन थाहा नपाउनु भएको त ? प्रधानमन्त्रीले मात्र थाहा पाउनुपर्ने सांसदले थाहा नपाउनुपर्ने कुरा हो र ?", उनले प्रतिप्रश्न गरे ।

एनसेलले नेपालको आधिकारिक प्रक्रियामा गएर शेयर खरिद-बिक्री गरेको, दूरसञ्चार प्राधिकरणको स्वीकृति लगिसकेको, मन्त्रीलाई थाहा भइसकेको तर आफूलाई थाहा नभएको भए मात्र सांसदहरूकाे प्रश्न जायज हुने आशय राखे । जुन दिन मिडियाबाट थाहा भयो, त्यही दिनबाट तुरुन्त पहल लिन सुरु गरेको उनकाे भनाइ थियाे ।

त्यस्तै अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा एनसेल प्रकरणमा कर तिर्नैपर्छ भनेर भनेर लडेको समेत उनले स्मरण गराए । 

"अहिले गलत भएको छ । स्वाभाविक भएको छैन," उनले भने, "मैले हेर्दा यहाँ गडबड नै भएको छ । कर छल्ने नियत पनि छ । स्वामित्व हस्तान्तरण गर्ने नियत पनि देखिन्छ । विज्ञहरूले यसको भ्यालुएसन २०० अर्बभन्दा बढी छ भनेका छन् । तर, ल्याएर छ अर्बमा बिक्री गरेको छ । यो कहीँ पनि पारदर्शी र प्राकृतिक छैन ।"

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १५:१७