close

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमः कहाँ कहाँ पुग्यो सेवा ?

टेकपाना टेकपाना

पुस ४, २०८० १३:३८

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमः कहाँ कहाँ पुग्यो सेवा ?

काठमाडौं । नेपाल टेलिकमका सात प्रादेशिक निर्देशनालयहरूमध्ये प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको फरक पहिचान छ । देशको सुदूरपश्चिममा रहेको तथा चीन र भारत दुवै देशसँग सीमा जोडिएका जिल्लाहरू समेटिएको यो प्रदेशमा तराईका सुगमदेखि पहाडी र हिमाली भेगका दुर्गम स्थानसम्म दूरसञ्चार सेवाहरू प्रदान गर्नुपर्ने जिम्मेवारी छ ।

कर्णाली चिसापानीदेखि भारतसँग जोडिएको नेपालको पश्चिमी भाग गड्डाचौकी हुँदै दोधारा चाँदनीसम्म तथा भारत र चीन सहितको त्रिदेशीय सिमाना छाङरुदेखि उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरजस्ता विकट स्थानसम्म नेपाल टेलिकमले सेवा उपलब्ध गराएको छ ।

प्रादेशिक निर्देशनालय अन्तर्गत बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्ला पर्छन् । नेपाल टेलिकमले निर्देशनालय अन्तर्गत डडेलधुरा, धनगढी र महेन्द्रनगर गरी तीन स्थानका दूरसञ्चार कार्यालयलाई लेखा कार्यालयको रूपमा जिम्मेवारी प्रदान गरी सेवा उपलब्ध गराइरहेको छ । ती लेखा कार्यालय अन्तर्गत पनि विभिन्न स्थानमा दूरसञ्चार कार्यालय छन् ।

निर्देशनालय अन्तर्गत हाल १८० कर्मचारी कार्यरत छन् । यो क्षेत्रमा नेपाल टेलिकमका मोबाइल सेवाका साथै त्याण्डलाइन टेलिफोन, एफटीटीएच, लिज लाइन, एडीएसएल, नमस्ते वाई-फाई, टोल फ्रि नम्बर, भ्यास (VAS) अन्तर्गतका विभिन्न सेवाका प्रयोगकर्ता रहेका छन् ।

वायरलेस सेवा

सुदूरपश्चिम प्रदेशमा वायरलेस सेवा अन्तर्गत जीएसएम पोस्टपेड प्रयोगकर्ता एक लाख ३५ हजार र प्रिपेड प्रयोगकर्ता २५ लाख ४० हजारभन्दा बढी छन् । उत्तरी क्षेत्रका साइपालदेखि टिंकरसम्म र भारत तथा चीनसँग जोडिएको त्रिदेशीय सिमाना छाङरुसम्म मात्र होइन, नेपालका प्रमुख सहरको पहिचान बनाएका धनगढी र महेन्द्रनगर लगायतका तराई क्षेत्रसम्मका सेवाग्राहीका लागि सेवा विस्तार र मर्मत सम्भार गर्नुपर्दछ ।

यही प्रदेशमा महाकाली करिडोर र हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा महेन्द्र राजमार्गका खण्डहरू पर्छन् । मोबाइल सेवाका लागि प्रदेश अन्तर्गत ३८३ जीएसएम फोरजी बीटीएस समेत गरी ४६१ बीटीएस साइटमार्फत सेवा उपलब्ध गराइएको छ ।

बाजुराको हिमाली गाउँपालिकाको बिच्छा र दार्चुलाको टिंकरलगायतका विकट स्थानमा भिस्याटमार्फत सेवा उपलब्ध गराइएको छ ।

एफटीटीएचमा स्थानान्तरण

कम्पनीद्वारा प्राथमिकताका साथ अघि बढाइएको तामाको तारबाट चल्ने पुरानो प्रविधियुक्त सेवालाई टेलिफोन, इन्टरनेट र टेलिभिजन समेत चलाउन मिल्ने अत्याधुनिक एफटीटीएच प्रविधियुक्त सेवामा स्थानान्तरण गर्ने कार्य व्यापक रुपमा भइरहेको छ ।

बैतडी जिल्लाको बैतडी, झुलाघाट, पाटन, खोडपे र देहिमान्डु, डडेलधुरा जिल्लाको डडेलधुरा र जोगबुडा, बझाङ जिल्लाको चैनपुर, डोटी जिल्लाको सिलगढी, दिपायल र बुडर, अछामको साँफेबगर र मंगलसेन, बाजुराको मार्तडी, दार्चुलाको गोकुलेश्वर र खलंगा, कैलालीको धनगढी, टिकापुर, चिसापानी, लम्की, भजनी, पहलमानपुर, अत्तरिया, राजीपुर र गेटा तथा कञ्चनपुरको बेलौरी, पुनर्वास, झलारी, गुलरिया र ब्रम्हदेवमा स्थानान्तरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

बाँकी स्थानमा समेत यो कार्य जारी रहेको छ र छिट्टै नै प्रदेशभर सम्पन्न गर्ने याेजना छ । बाजुराको बुढीगंगा, डोटीको गोप्घाट र कैलालीको खानीडाँडा लगायतका स्थानमा नयाँ नेटवक तयार भई एफटीटीएच लाइन जडान कार्य सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लामा नेपाल टेलिकमले एफटीटीएच प्रविधिको उच्च गुणस्तरीय एनटी फाइबर इन्टरनेट उपलब्ध गराइरहेको छ । यो प्रदेशमा २० हजारभन्दा बढी सीपीई वितरण भई सेवाग्राहीले भ्वाइस, डे्टा र आईपीटीभी प्रयोग गरिरहेका छन् ।

हाल १५३ एफडीसीमार्फत ७७ हजारभन्दा बढी लाइन वितरण गर्नसक्ने क्षमताको नेटवर्क तयार भएको छ । गत आर्थिक वर्षमा प्रादेशिक निर्देशनालयले सेवा वितरणतर्फ तोकिएको लक्ष्यको १०९ प्रतिशत र नेटवर्कतर्फ १०३ प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको थियो ।

चालू आर्थिक वर्षमा पनि हालसम्म नेटवर्क निर्माणतर्फ ५० प्रतिशत भन्दा बढी नै लक्ष्य हासिल हुने क्रममा रहेको छ। व्याकबोन नेटवर्क मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र महेन्द्र राजमार्गमा OPGW, ADSS, UG Fiber र माइक्रोवेभ लिंकमार्फत ट्रान्समिसन लिंक बलियो बनाउने कार्य भइरहेको छ ।

प्रदेशअन्तर्गत कर्णाली चिसापानीदेखि कञ्चनपुरको लालपुरसम्म र कैलालीको अत्तरियादेखि डडेलधुरासम्म OPGW मार्फत 100G DWDM को उपकरणहरू सञ्चालनमा छन् । यसैगरी जिल्लाका सदरमुकामहरूमा ADSS मार्फत र कतिपय पहाडी जिल्लाहरूमा माइक्रोवेममार्फत सेवा सञ्चालन गरिएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत कम्पनीका सेवाको व्यापक विस्तारका लागि अप्टिकल फाइबर रुट निर्माण गर्ने योजना छ । यस अनुसार सुर्खेतको राकम हुँदै अछामको विनायक, ठुलासैन, मंगलसेन, साँफे तथा डडेलधुराको स्याउले हुँदै बैतडीको झुलाघाटसम्म सर्भे सम्पन्न भइसकेको छ ।

कम्पनीको विशेष आयोजना विभागले सो लोकमार्ग अन्तर्गत जोगबुडा-बुडर, झुलाघाट-दू.सं. का. बैतडी, गोकुले- दू.सं.का. दार्चुला, खोडपे दू.सं.का बझाङ चैनपुर र साँफेबगर-दू सं. का. मार्तडीसम्म नेटवर्क निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत बेलौरीदेखि राजापुरसम्मको करिब १०५ किलोमिटर खण्डका साथै बेलौरीदेखि हसुलियासम्मको खण्डमा फाइबर लिंक निर्माण भइसकेकोमा सडक विस्तारको क्रममा केही क्षति भई सोको मर्मत कार्य जारी छ । बाँकी स्थानमा समेत लक्ष्य हासिल हुनेगरी विभागले आवश्यक योजना बनाइरहेको छ ।

यी सबै कार्यमार्फत भ्वाइस सेवालाई गुणस्तरीय बनाउने र उच्च क्षमताको डेटा उपलब्ध गराउने कार्यमा सघाउ पुग्नेछ । त्यसैगरी कुनै स्थानमा भइरहेको नेटवर्कबाट सेवा प्रवाहमा व्यवधान भएमा वैकल्पिक रुटको रुपमा समेत यसलाई प्रयोग गर्न सकिने र सेवालाई निरन्तरता दिन सकिने छ ।

पावर

प्रदेश अन्तर्गतका अधिकांश पहाडी जिल्लाका विकट स्थानहरूमा विद्युत लाइन उपलब्ध नभएका कारण साइटमा सोलार पावरमार्फत सेवा उपलब्ध गराउँदा मौसम राम्रो भएको समयमा मात्र सेवा उपलब्ध हुने अवस्था थियो । सेवाग्राहीको गुनासो कम गर्न र सेवालाई गुणस्तरीय बनाउनका लागि हाल विभिन्न स्थानमा जेनेरेटर जडान, सोलार पावरको क्षमता अभिवृद्धि र विद्युतीकरण गर्ने कार्यलाई प्रादेशिक निर्देशनालयले प्राथमिकतामा राखेको छ ।

यस कार्यमा स्थानीय निकायको समेत महत्त्वपूर्ण सहयोग प्राप्त भइरहेको छ । गत आर्थिक वर्षमा विभिन्न स्थानमा जेनेरेटर जडान र करिब १७ स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भई हाल अन्य स्थानमा समेत सो कार्यलाई निरन्तरता दिइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व र अन्य

कम्पनीले सेवा सञ्चालन तथा प्रवर्द्धनका साथै संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य समेत गर्दै आएको छ । गत आर्थिक वर्षमा कैलालीको टिकापुर पार्कमा ४० वटा डस्टबिन वितरण गरिएको थियो भने कञ्चनपुरको समाज कल्याण अञ्चल बाल अनाथालयलाई २५ एमबीपीएस डेटा, भ्वाइस, एनटीटीभी र एक वर्षको इन्टरनेट प्याकेज सहितको सेवा उपलब्ध गराइएको थियो ।

त्यसैगरी बैतडीको पञ्चेश्वरस्थित कुलाउ मा. वि. लाई खेलकुद सामग्री वितरण र बाजुराको बडीमालिकास्थित नेपाल राष्ट्रिय मा.वि.लाई स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको थियो ।

चालू आर्थिक वर्षमा विभिन्न अस्पताल, नगरपालिका र गाउँपालिकाहरूमा १७ थान मल्टिचार्जर वितरण गरिएको छ । नयाँ टावर सञ्चालन भएका विजयपुर, पहलमानपुर, बिजुलिया लगायतका स्थानमा रु. १ शुल्कमा सिम वितरण गरिएको छ ।

धनगढीदेखि अत्तरियासम्मको ६ लेन सडकको बीचमा रहेको हरियाली क्षेत्रमा नेपाल टेलिकमले ट्रि-गार्डको व्यवस्था गरेको छ ।

(नेपाल टेलिकमकाे मासिक प्रकाशन 'टेलिकम न्युजलेटर'बाट ।)

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १३:५०