close

ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न अब यातायात कार्यालय जानु नपर्ने

टेकपाना टेकपाना

पुस ६, २०८० १५:२३

ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न अब यातायात कार्यालय जानु नपर्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न यातायात व्यवस्था कार्यालय नगए पनि हुने व्यवस्था लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा यातायात व्यवस्था विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग पनि स्वास्थ्य परीक्षण गर्न सक्नेछन् । 

“स्वास्थ्य परीक्षणको पाटोमा अहिले पनि सेवाग्राहीहरू स्वास्थ्य परीक्षण गर्न कार्यालयमै पुगिरहनु भएको हुन्छ, जसले गर्दा कार्यालयमा भिड लाग्छ,” यस विषयमा टेकपानासँग कुरा गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, “स्वास्थ्य परीक्षण गर्ने काम सूचीकृत गरेर अनलाइनबाटै गराउन सकिन्छ ।  जहाँ बसेर भए पनि स्वास्थ्य परीक्षणको रिपोर्ट अनलाइनबाटै रिपोर्ट हालेपछि सेवाग्राही यातायात कार्यालयमा आइरहन पर्दैन । त्यो व्यवस्थासहितको कार्यविधि हो यो ।”

नयाँ सेवाग्राहीले आवेदन दिने प्रक्रिया

नयाँ सेवाग्राहीले प्रणालीमा लगइन भएपश्चात सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्दा निम्नानुसारको प्रक्रिया अवलम्बन गरी आवेदन गर्नुपर्नेछ:

- अनलाइन प्रणालीमा लगइन भएपछि आफ्नो युजर अकाउन्टको ड्यासबोर्डमा रहेको ‘नयाँ लाइसेन्सको आवेदन’ बटनलाई क्लिक गर्नुपर्छ ।

- त्यसपछि मेडिकल चेकजाँचको ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने र ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प देखा पर्छ । त्यसमध्ये एउटा विकल्प छनौट गर्नुपर्छ । प्रदेशले कार्यालय बाहिर रहेर सेवा दिने चिकित्सक सूचीकृत नगरेसम्मका लागि कार्यालयमा नै गई मेडिकल जाँच गर्ने विकल्प मात्र उपलब्ध हुनेछ ।

- ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रका लागि आवेदन पेश गर्न चाहेको अफिस र कार्यालय जाने मिति (Appointment Date) छनौट गरेर पेश गरेपछि निजको आवेदन पेश भई ‘Reference Number’ प्राप्त हुन्छ।

- ‘Reference’ प्राप्त भएपछि नम्बर आवेदन फारम डाउनलोड गरी सक्कल नागरिकता सहित कार्यालयमा जानुपर्नेछ । कार्यालयमा निजले जैविक विवरण दिई स्वास्थ्य परीक्षण समेत गराउनुपर्नेछ ।

- ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

क) सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रको लागि आवेदन पेश गर्न चाहेको कार्यालय र चिकित्सकको नाम ठेगाना छनौट गरी पेश गर्नुपर्छ । त्यसपछि चिकित्सकको विस्तृत विवरण प्राप्त हुन्छ ।

ख) आवेदकले चिकित्सकसँग भेट गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । चिकित्सकले नियमानुसार सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी अनलाइन आवेदनको मेडिकल चेकजाँच प्रणालीमार्फत स्वस्थ/फिट वा अस्वस्थ अनफिट भएको जनाउनुपर्नेछ । साथमा मेडिकल रिपोर्ट समेत अपलोड गर्नुपर्नेछ ।

ग) मेडिकल जाँचमा उत्तीर्ण सेवाग्राहीले नतिजाको जानकारी प्राप्त भएपश्चात पुनः आफ्नो युजर एकाउन्ट प्रोफाइलमा लगइन गरी कार्यालय जाने मिति छनोट गरी आवेदन गर्नु पर्नेछ । त्यसपछि ‘Barcode’ सहितको ‘Reference Number’ प्राप्त हुन्छ । सेवाग्राहीले उक्त दर्ता फारम डाउनलोड गरी (फारम तथा सकल नागरिकता साथमा लिई) कार्यालयमा जानुपर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८० १५:२३