close

ललितपुरलाई स्मार्ट सिटी बनाउँदै छौंः मेयर महर्जन

टेकपाना टेकपाना

पुस १२, २०८० १७:१०

ललितपुरलाई स्मार्ट सिटी बनाउँदै छौंः मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउनेगरी काम भइरहेकाे बताएका छन् । भिरिन्ची कलेजद्वारा आयोजित ‘आईसीटी मेला ४.०’ मा सम्बोधन गर्दै मेयर महर्जनले महानगरकाे स्वरूप फेर्न लागेकाे भनाइ राखे ।

“ललितपुरलाई स्मार्ट सिटी बनाउन केके गर्नुपर्छ र स्मार्ट सिटी बन्नबाट रोक्न केके कुरा गर्नुपर्छ, हामी त्यसमा तयार छौं,” उनले भने, “यो उद्देश्य प्राप्त गर्न आईटी पढ्ने विद्यार्थी तथा आईटी पढाउने कलेजले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।”

मेला अवलोकनपछि विद्यार्थीको उत्साह देखेर आफू हर्षित भएको प्रतिक्रिया दिँदै उनले आईटी अध्ययनरत विद्यार्थीले बनाउने त्यस्ता परियोजना व्यवहारिक हुनपर्नेमा जाेड दिए । कुनै पनि आईटी अध्ययनरत विद्यार्थीलाई त्यस्ता परियोजनामा सहयोग गर्न आफू प्रतिबद्ध रहेकाे उनले उल्लेख गरे ।

“तपाईंहरूले कुनै पनि योजना लिएर आउनु भए ललितपुर महानगरपालिका सहयोग गर्न सधैं तयार हुनेछ, ताकि त्यसले स्मार्ट सिटी बनाउन सहयोग गरोस्,” उनले भने ।

भिरिन्चीले आफ्नै कलेज परिसरमा आजदेखि तीन दिनसम्म चौंथो संस्करणको उक्त मेला गर्नेछ । मेलामा ब्याचलर्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) का विद्यार्थीले तयार पारेका २० भन्दा बढी उपकरण र प्रविधिको प्रदर्शनी गरिएको छ ।

यसअन्तर्गत ह्युमनाइड रोबोट, सोलार ट्र्याकिङ सिस्टम, स्मार्ट पार्किङ, फेस रिकग्नाइजेसन सिस्टम, सर्भिलेन्स रोबोट स्नेक, स्मार्ट ग्निन हाउस, होलोग्राम लगायतका प्रविधि रहेका छन् । याे मेला निःशुल्क अवलाेकन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १७:२२