close

एसईई दिएका विद्यार्थीका लागि २५ दिने रोबो बुटक्याम्प, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख १७, २०८३ १८:५

एसईई दिएका विद्यार्थीका लागि २५ दिने रोबो बुटक्याम्प, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । रोबोटिक्स शिक्षा प्रदायक कम्पनी ‘रोबोआरम्भ’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका विद्यार्थीहरूका लागि २५ दिने ‘एसईई रोबो बुटक्याम्प २०८३’ सञ्चालन गर्ने भएको छ । आगामी ३ जेठदेखि सुरु हुने कार्यक्रमका लागि कम्पनीले अनलाइन आवेदन खुला गरेको छ । 

रोबोटिक्स र इन्टरनेट अफ थिङ्सका क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको बुटक्याम्पमा विज्ञहरूले प्रत्यक्ष प्रशिक्षण दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्ज्वल कोइरालाले जानकारी दिए । नयाँ पुस्तालाई आधुनिक प्रविधिसँग जोड्न र उनीहरूमा प्रयोगात्मक सीप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।

 

दैनिक दुई घण्टाका दरले कुल ५० घण्टा लामो रहने बुटक्याम्पमा विद्यार्थीहरूले रोबोटिक्सका विभिन्न आयामहरूको बारेमा सिक्न पाउनेछन् । पाठ्यक्रमलाई बेसिक रोबोटिक्सका लागि १६ घण्टा, इन्टरनेट अफ थिङ्सका लागि १४ घण्टा, अप्लाइड एआई तथा एज सिस्टमका लागि १४ घण्टा र सुरक्षित अनलाइन व्यवहारका लागि साइबर हाइजिन विषयमा ६ घण्टा गरी विभाजन गरिएको छ ।

तालिमका लागि कुल आवेदकमध्ये जम्मा १६ जना विद्यार्थीलाई मात्र छनोट गरिने छ । सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउनुपर्ने छ । 

यस बुटक्याम्पका लागि प्रतिविद्यार्थी १६ हजार रुपैयाँ शुल्क तोकिएको छ, जसमा प्रशिक्षणका साथै खाजा र रोबोटिक्स किटको खर्च समेत समावेश छ ।

तालिमको आकर्षणका रूपमा विद्यार्थीहरूले प्रशिक्षणका क्रममा आफैँले निर्माण गरेको रोबोटिक सामग्री (किट) बुटक्याम्प सकिएपछि घर लैजान पाउनेछन् । “सहभागी विद्यार्थीले तालिमपछि आफैँले बनाएको किट्स घर लैजान पाउनेछन् । हाम्रो उद्देश्य विद्यार्थीहरू बुटक्याम्प सकिएर घर फर्कँदा हातमा एउटा प्रोडक्ट र मनमा प्रविधिको स्पष्ट बुझाइ लिएर जाउन् भन्ने हो,” उनले भने ।  

तालिम काठमाडौँको तीनकुनेस्थित रोबोआरम्भको ल्याबमा अनुभवी इन्जिनियर र प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने कोइरालाले बताए । यसका साथै विद्यार्थीहरूलाई ललितपुरको बालकुमारीस्थित जीबीएस रिसर्च एन्ड डेभलपमेन्ट ल्याबको भ्रमण समेत गराइनेछ । जहाँ उनीहरूले नेपालमा रोबोटिक्सको व्यावसायिक उत्पादनको प्रक्रियालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउनेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८३ १८:१७