close

भारतमा टेस्लाको ईभी फ्याक्ट्री खोल्दै एलन मस्क

टेकपाना टेकपाना

पुस १३, २०८० १४:२५

भारतमा टेस्लाको ईभी फ्याक्ट्री खोल्दै एलन मस्क

काठमाडौं । विद्युतीय सवारी निर्माता टेस्लाले पहिलो पटक भारतमा म्यानुफ्याक्चर प्लान्ट बनाउने भएको छ । भारतीय सञ्चारमाध्यम अहमदाबाद मिररले आगामी जनवरी, २०२४ मा टेस्लाले भारतकाे गुजरातमा प्लान्ट स्थापनाको घोषणा गर्न लागेको दाबी गरेको छ ।

उक्त मिडियाका अनुसार गान्धीनगरमा हुने 'भाइब्रेन्ट गुजरात समिट २०२४' मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क उपस्थित हुनेछन् । सोही कार्यक्रममा मस्कले म्यानुफ्याक्चर प्लान्ट स्थापनाको घोषणा गर्ने बताइएको छ ।

मिडिया रिपोर्टमा म्यानुफ्याक्चर प्लान्ट स्थापना गर्न उपयुक्त हुने ठाउँका लागि कम्पनीले गुजरात सरकारसँग छलफल गरिरहेको उल्लेख छ । उक्त राज्य सरकारले टेस्ला प्लान्टका लागि गुजरातको सानन्द, धोलेरा, बेराजीजस्ता ठाउँ प्रस्ताव गरेको समेत जनाइएकाे छ ।

एसियाली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले विद्युतीय सवारी निर्माणका लागि भारतमा टेस्ला प्लान्ट स्थापना गर्न इच्छा देखाएकाे छ । यद्यपि अहिलेसम्म टेस्ला वा गुजरात सरकारले यसबारे आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् ।

विगत केही वर्षदेखि नै टेस्ला भारतमा प्रवेश गर्न चाहेको चर्चा भइरहेको छ । गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा पनि एलन मस्कले उनीसँग भेटवार्ता गरेका थिए । सोही भेटमा उनीहरूबीच भारतमा टेस्ला प्लान्ट स्थापना गर्नेबारे छलफल भएको थियाे ।

त्यस्तै नोभेम्बरमा भारतका युनियन कमर्स मिनिस्टर पियुश गोयलले आफ्नो अमेरिका भ्रमणमा क्यालिफोर्नियामा रहेको टेस्लाको फ्याक्ट्री भ्रमण गरेका थिए ।

२०२१ मा एलन मस्कको ईभी कम्पनीले विद्युतीय सवारी साधनको आयात शुल्कमा कटौती गर्न खोजेको थियो । भारतमा सवारी साधनको आयात मूल्यको आधारमा विद्यमान दायरा ७० देखि १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत पुर्‍याउनुपर्ने उसको माग थियो ।

तर, भारतले आयात शुल्क घटाउन नचाहेपछि टेस्लाले आफ्नो कम्पनी भारतमा नलैजाने अडान राखेको थियो । त्यसबाहेक मस्कले त्यस वर्ष सुरुमा बिक्री र आयातित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए ।

अहिले भने भारत सरकारबाट सहयोगको प्रतिबद्धता पाएपछि टेस्ला भारतमा प्रवेश गर्न लागेको विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० १४:२५